त्रिशूली, नुवाकोट– सूर्यगढी गाउँपालिका गणेशस्थानका किसान प्रल्हद पौडेलले आठ रोपनी खेतमा लगाएको चैते धान यस वर्ष विगत वर्षको तुलनामा बढी फल्यो ।


ADVERTISEMENT


गत वर्ष करिब २७ टन धान फलेकोमा यस वर्ष ३२ टन फलेको उनले बताए। जिल्ला कृषि विकास कार्यालयले चैतेधान उत्पादन वृद्धि गराउन कार्यक्रम सञ्चालन गरेपछि धानको उत्पादन बढेको पौडेलको भनाइ छ । “प्राविधिकको सल्लाह अनुसार धान रोपेपछि उत्पादन बढेको हो,” उनले भने ।


ADVERTISEMENT

# # #


उनको मात्र होइन गणेशस्थानका १७ परिवारले धानको उत्पादन बढेको बताएका छन् । सरकारले वृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गरेपछि चैतेधान उत्पादन बढेको हो ।

हार मिलाएर रोप्दा बीउ कम लाग्ने र झार गोड्नको लागि मेसिन प्रयोग गर्न सहज हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरे बताउनुहुन्छ । वृहत्तर धान उत्पादन कार्यक्रम जिल्लाका मदानपुर, थानसिङ, थानापति, खानिगाउँ, चौघडा, गणेशस्थान, कविलाश, रालुका, नर्जामण्डपलगायत ठाउँमा सञ्चालन भएको छ ।

उक्त कार्यक्रमअन्तर्गत ३९४ परिवारलाई समेटिएको छ । बाली बीमा गर्ने र लाइनमा मिलाएर धान रोप्ने किसानलाई रु दुई लाख ९१ हजार रकम प्रोत्साहनस्वरुप वितरण गरिएको छ । कार्यक्रम आगामी तीनवर्षसम्म सञ्चालन हुनेछ । आव २०७२÷७३ देखि वृहत्तर धान उत्पादन कार्यक्रम सुरु गरिएको हो ।

जिल्लामा छ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैतेधान लगाइन्छ । चैतेधानको उत्पादकत्व प्रतिहेक्टर ४।२ मेट्रिक टन रहेको छ । ताइचुङ, सीएच ४५, कञ्चन, खुमल ११, जिरा मसिनोलगायत जातको धान लगाउने गरिएको बाली विकास अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए ।