भोजपुर– भोजपुरको प्रसिद्ध तथा ऐतिहासिक टक्सार बजारको अस्तित्व लोप हुने सङ्घारमा पुगेको छ । विसं १८७२ तिर यही बजारमा नेपालभर आवश्यक पर्ने तामाको ‘डोली पैसा’का नामले प्रख्यात टक उत्पादन हुन्थे तर, अहिले यस्तो ऐतिहासिक स्थल सुनसान प्रायः छ । यस क्षेत्रमा रहेका प्रसिद्ध धातु उद्योगहरु पनि एक पछि अर्को गर्दै बन्द हुँदै गएका छन् ।


ADVERTISEMENT


पञ्चायत कालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौं मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार पछिल्लो समय सुनसान हुँदै गएको छ । यहाँ रहेका पुराना कलात्मक शैलीका घरहरु भत्कने अवस्थामा पुगेका छन् । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाकाहरुले बताउने गरेका छन् । इतिहासको अध्ययन गर्ने हो भने यो स्थल सोह्रौं शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ । माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै अड्डा अदालतहरु पनि खोलिएका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरु बताउँछन् । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ ढोली पैसा बनाउने गरिन्थ्यो ।


ADVERTISEMENT

# # #


विस १८७२ देखि १८८७ सम्म यहाँ ढोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन नेपाल सरकारले विसं १८७० देखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लाहरुमा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो । अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए ।

टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दैआएको स्थानीय जानकारहरु बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका डोली टक पैसा राणा शासनमा प्रचलित थियो । डोली टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति पनि सँगै ल्याए । टक्सारमा थेरवादी पहिलो बौद्ध विहार समेत रहेको छ । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बूढापाकाहरु बताउँछन् ।

ती सम्पदाको समय समयमा मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएका छन् । त्यसो त राणा शासन कालमा टक्सार ताप्लेजुङको ओलाङचुङ्गोला बाहेकको तिब्बतको व्यापारिक केन्द्र डिगर्चा जाने मुख्य बाटोसमेत रहेको थियो । टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ्ग, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको स्थानीयवासी देवकुमार शाक्यले बताउनुभयो । दशकौं अघिसम्म सयौंको सङ्ख्यामा रहेका यहाँका उद्योगहरु हाल आएर पाँच÷छ वटामा सीमित भएका छन् । ती धातु उद्योग पनि बन्द हुने अवस्थामा रहेको स्थानीय उद्योगीहरुको भनाइ छ । अहिले आएर बजारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको ८३ वर्षीय स्थानीयवासी सूर्य बहादुर ताम्राकारले जानकारी दिनुभयो । बजारका हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दुरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उनले बताए ।

‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करीव डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजीकै टक्सार विमान स्थलसमेत रहेको छ । टक्सार बजारका धातु उद्योगहरुलाई ब्यूँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरुलाई स्थानीय स्तरबाट अभिप्रेरित गर्नुपर्ने खाँचो एकातिर छ भने अर्कातिर मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्र मात्रै हैन विदेशमा समेत निर्यात हुने गर्छ । अहिले बजारको मागलाई यहाँका उद्योगहरुले धान्न सकिरहेका छैनन् ।

बजारमा जनघनत्व घटेर विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको हो । बसाइँ सरेर गएका मानिसहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेको स्थानीय तहको ठहर छ । चहलपहल शून्य प्रायः भएर बजार विस्तार हुन नसक्दा बाहिरी मानिसहरुले पनि यहाँ व्यापार व्यवसाय सञ्चालन गर्न हिम्मत गर्न नसकेको वडा कार्यालयको भनाइ छ । मानवीय क्षति ननिम्तियोस् भनेर अब वडा कार्यालयले भत्किन लागेका घरहरुलाई भत्काउने भएको छ । यस अतिरिक्त टक्सार बजारको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा कार्यालयले पहलकदमी लिने भएको छ । यसका लागि प्रदेश सरकारसँग वार्ता गरेर काम अगाडि बढाउने प्रतिवद्धता वडाध्यक्ष कुमार प्रसाद श्रेष्ठले व्यक्त गरेका छन्

जिल्लाका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरिएको यो बजार सुनसान बन्दा भोजपुर जिल्लाकै चिनारी पनि धमिलो हुँदै गएको महसुस यहाँका बासिन्दाहरुले गरेका छन् । – युवराज विष्ट रासस