– दीपक खड्का : नेता, नेपाली कांग्रेस


ADVERTISEMENT


महासमितिको बैठकपछि नेपाली कांग्रेस कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


महासमिति बैठकले कांग्रेसलाई एउटा उर्जा पैदा गरेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि सायद कांग्रेसले नै होला पहिलो पटक आफ्नो विधान संशोधन गरेर संघीय संरचना अनुसारको बनाएको छ । अब तल्लोतहदेखि संगठनमा लाग्ने काम हुन्छ । त्यस कारण कांग्रेसले अहिले एउटा गति समातेको छ । अर्को विधानकै कारण कांग्रेस अलिकति अलमलमा परेको थियो । मुलकमा व्याप्त भ्रष्टाचार, महंगी, बलात्कार, हत्या हिंसाका घटनाहरु तपाईहरुले सुन्नु भएकै होला । त्यसका विषयमा कांग्रेस अहिले सदनमा खरो रुपले प्रस्तुत भइराखेको छ । पूरानो जिम्मेवार पार्टी हुनाले हामी आफ्नो भूमिका बलियोसंग राखेर जनताको पक्षमा उभिन्छौँ । त्यसकारण महासमितिको बैठक र विधान शंसोधनले कांग्रेसलाई थप बल पुर्याएको छ ।

निर्वाचनपश्चात जनता र कांग्रेसबीचको दूरी अलिकति बढेको जस्तो देखिन्छ । यो दूरीलाई छोट्याउनका लागि कांग्रेस कसरी अगाडि बढ्छ ?

कांग्रेसले जनतासंगको सम्बन्ध सधैँ स्थापित गर्छ । कांग्रेसले जनतालाई नै मुलुकको मालिक मान्ने भएको कारणले जनताभन्दा बाहिर बस्न सक्दैसक्दैन । निर्वाचनपश्चात के भयो भने हामीले आफ्नो विधान परिवर्तन गर्नुपर्ने केही कुराहरु अलमलिएजस्तो भएको हो । विधान पविर्तन भएपछि मेलमिलाप दिवस हामीले ७७ वटै जिल्लाका तल्लोतहसम्म मनायौँ । त्यस कारण कांग्रेसले न जनता छोड्नसक्छ, त जनताले कांग्रेस छोड्न सक्छन् ।

मुलुकमा विकास र समृद्धिको कुरा गरिरहँदा सरकारलाई जनताका कुरा सुन्ने बनाउन, गलत बाटोमा गए सही मार्गमा डोर्याउनका लागि कांग्रेसले अहिले प्रमुख प्रतिपक्षीको भूमिका पाएको छ । तर अहिले सरकार दुई तिहाईको दम्भमा आफ्ना मान्छेहरु पालन पोषण गर्ने, भ्रष्टाचारमा रमाउने, तस्करहरुलाई प्रोत्साहित गर्ने काम गरिरहेको छ । देशमा हत्या, हिंसा र बलात्कारका काण्ड बढिरहँदा सरकार मौन छ । ६ महीना बित्दा ८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । त्यस कारण सरकारलाई सही मार्गमा लैजान अब प्रमुख प्रतिपक्षी दलका हिसाबले कांग्रेसले प्रभावकारी भूमिका खेल्छ ।

नेकपाले दुई तिहाई बहुमत ल्याउँदा एक किसिमले जनतामा सकारात्मकता थियो । तर, एक वर्ष बित्न नपाउँदै कांग्रेसले सरकार बरालियो, ठिक ठाउँमा ल्याउन संघर्ष गर्छौँ भनिरहेको छ । किन त्यस्तो अवस्था आइलाग्यो ?

५ महिनामा नै हामीजस्तो जिम्मेवार पार्टीले विरोध गरिहाल्नु हुँदैन भनेर हामी सरकारलाई सहयोग नै गरिरहेका थियौँ । तर, सरकारका गतिविधि यस्तो ढंगले अगाडि बढिसकेपछि एक वर्ष पनि मुलुकका लागि २५ वर्ष जस्तोगरी पछाडी धकेलिने देखिएकाले अब मुलुक बर्बादीतर्फ जानु हुँदैन, अब कांग्रेस चूप लागेर बस्नुहुँदैन भन्ने हाम्रो ठम्याई हो । सरकारलाइ ठिक ट्रयाकमा ल्याउन हामी संसदीय प्रणालीबाट अभियान थाल्छौँ । तर, त्यसले पनि पुगेन भने सडकमा गएर आन्दोलन गर्न बाध्य हुन्छौँ । जनताका आवाज दबाएर शासन गर्छु, एकतन्त्रीय पद्धती चलाउँछु भन्ने नसोचे हुन्छ ।

भनेपति कांग्रेस सरकारका विरुद्धमा सडकमै उत्रिन्छ ?

कांग्रेसमात्रै होइन, जनता पनि सडकमा उत्रिनुपर्ने बेला भइसक्यो । कांग्रेस एक्लै उत्रिँदैन । किनभने राम्रा कुराका लागि जनता जहिले पनि साथमा हुन्छन् । इमान्दार नागरिकहरु, जिम्मेवार राजनीतिक दलहरु सबै उठ्नुपर्ने आवश्यकता पर्छ ।

तपाई जनताको घरदैलोमा फर्किएर जाँदा के पाउनुहुन्छ प्रतिक्रिया ?

सातवटा कम्युनिस्ट पार्टी, राप्रपा र आफ्नै पार्टीका केही मान्छेहरु मिल्दा पनि म चुनाव जितिराखेको मान्छे हुँ । मतगणनामा फट्याँईं गरेर हजार ११ सय मतले प्रतिपक्षी साथीले जित्नुभयो । निर्वाचन आयोगको यो निर्णयविरुद्ध आजपनि सर्वोच्च अदालतमा कानुनी न्यायका लागि छु । त्यसकारण निर्णय जेसुकै होस्, जनताले मलाई एकदमै माया गरिरहेका छन् । म आफ्नो कर्तव्यप्रति इमान्दार छु । आज भेट्दा भोट नहाल्ने पनि गल्ती गर्यौँ भनेर पश्चाताप गर्नुहुन्छ । जिल्लाका लागि ठूलो अन्याय गरेछौँ भनेर भन्नुहुन्छ । यो भन्दा ठूलो कुरा मेरा लागि के हुनसक्छ र !

कांग्रेसको विधान बनिसकेपछि महाधिवेशनका लागि गठजोड हुन थालेका छन् भन्ने कुरा बाहिर आइरहेका छन् । आगामी महाधिवेशनका लागि तपाईको तयारी के छ ? अबको नेतृत्व कस्तो हुनुपर्छ ?

महाधिवेशन आइरहँदा आफ्नो भूमिका खोज्नु स्वभाविक हो । त्यतिखेर साथीहरुले कस्तो खालको स्थान दिन चाहनुहुन्छ, त्यसमा भर पर्छ । जहाँसम्म पार्टीको नेतृत्वको कुरा छ, उमेर पुगेकाले छाडेर युवाहरुले नेतृत्व लिनुपर्छ भन्ने खालका आवाजहरु पनि बाहिर सुन्न पाइन्छ । मलाई पनि हो कि जस्ते लाग्थ्यो । तर, जब म गहिरिएर हेर्न थालेँ, हामी युवा भन्नेहरुले उमेर पुगेकालाई विस्थापित गर्ने क्षमता बनायौँ कि बनाएनौँ भन्ने प्रश्न उब्जिन्छ । जनता, कार्यकर्ताले पत्याउने छवी हाम्रो छ कि छैन भन्ने कुरा प्रमुख हो । त्यसकारण म आफू युवा भएपनि युवाहरुप्रति त्यती आशावादी छैन । एउटा नेतृत्व परिवर्तन् गरेर अर्को नेतृत्व आउँदा विगतको भन्दा शसक्त र क्षमतावान् हुन जरुरी छ । त्यो विकास हामी युवा भन्नेहरुले गर्न जरुरी छ ।