रिपेश दाहाल, हेटौँडा– ठेलामा व्यापार गरेर महिनामा रु एक लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् नवलपरासी घर भई हाल हेटौँडामा ठेला किचेन चलाएर बसेका ३५ बर्षीय युवराज नेपाल ।


ADVERTISEMENT


वैदशिक रोजगारको सिलसिलामा मलेशियामा थुप्रै हण्डर खाएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई गएका उनलाई एक वर्षको बसाइले फेरि कहिल्यै विदेश नजाने गरी नेपाल फर्काइदियो । आज रु २० हजार भन्दा कमको लगानीमा हेटौँडामा दैनिक तीन/चार हजार त मुनाफा मात्रै गर्ने युवराज भन्छन् – “हिजो विदेश नगएर यस्तै काम ग¥या भए हेटौँडामा पाँच तले घर बनाइ सक्या हुन्थेँ।”


ADVERTISEMENT

# # #


उनको ठेला वरपर केराका परिकारसहित चटपटे, पकौडा, आलु चप, भेज मोमोलगायतका परिकारहरु खाने ग्राहकहरुको घुइँचो लागेको देख्न सकिन्छ । साइँला दाइको नामले परिचित हँसिला युवराजको वास्तविक कथा भने निक्कै नै उतारचढावले भरिपूर्ण छ ।

नवलपरासीमा जन्मिएका युवराजले विदेश गएर टन्न पैसा कमाउने सपना देखे । ऋणपान गरेर मलेसिया उडे पनि । भुँइ कहिल्यै नछोड्नु भएका उनले बोइङ चड्दा भुँइ मात्रै छोडेनन्, देश, आमा, बाबा, आफन्त, साथीभाइ, स्नातकसम्मको अध्ययन सबै छाडे। पैसा कमाउन ती सब कुरा त्याग्नु नै पर्ने थियो । धेरै नेपालीहरुले त्यागेकै थिए । हवाइजहाज चड्नु अघिसम्म पनि उनलाई विदेश गएर आएका नेपालीहरुको सुकिलामुकिला दैनिकीले लोभ्याइ नै रहेको थियो, विदेशमा बगाएका पसिनाको गन्ध अत्तरले पुरिएकै किन नहोस् ।

युवराजका अनुसार हवाइजहाज गुड्न थालेदेखि नै अनौठो डर, देश छोड्नु पर्दाको ग्लानि अनि, के ले हो के ले थिचेको जस्तो निस्सासिएको जस्तो अनुभूति भएको थियो । “कसम मलाई सानोमा दाजुभाइ सिरकले थिची खेल्थ्यौं, त्यतिखेर अलि धेरै बेर सिरकले थिचिँदा जस्तो उकुसमुकुस हुन्थ्यो त्यस्तै भयो” उनले विगत सम्झँदै आफ्नै लवजमा भने । तर, पैसा कमाउने र धनी मान्छे बन्ने सपना बिपना भन्दा धेरै गुणा चहकिलो बनेर आँखामा बसेपछि युवराजलाई तीन वर्ष मलेशिया बस्न उकुसमुकुसले छेकेन । केही पैसा कमाउनु पनि भयो तर, त्यो पैसा पर्याप्त थिएन र कम पनि थिएन । युवराज भन्छन् – “रातदिन अर्काको देशमा डर, चिन्ताबीच जोतिँदा मनग्ये आम्दानी गरे पनि परिवारसँगै हुन नपाउँदा साह्रै गाह्रो हुने रहेछ । त्यही भएर मलाई पनि आफ्नै देशमा आउन मन लाग्यो ।” त्यसो त तीन वर्षको अवधिमा एकपटक पनि नेपाल नफर्कनु भएका युवराजले विदेश मै हुँदा आफ्नो पिता गुमाए । जन्मदाताको काजक्रिया गर्न नेपाल फर्कन खोज्दा कम्पनीले दिएन । “पसिना मात्र हैन दाइ मैले धेरै गाग्री आँशु पनि बगाएको छु विदेशमा,” युवराजले भावुक हुँदै भने । नेपालमै केही गर्ने सोचसहित युवराज नेपाल फर्किए ।

त्यसो त विदेशमै हुँदा उनलाई नेपाल मै गर्न सकिने थुप्रै कामहरुको ‘आइडिया’ नफुरेको होइन तर, के चाहीँ गर्ने निक्र्योल भने हुन सकेको थिएन । यसबीचमा चितवनकी निरु चिमरियासँग उनको विवाह भयो । एक्लो युवराजसँग अब सहयात्री थपिएपछि नेपालमै बसेर कुखुरापालन गर्ने योजना बन्यो । नवलपरासीका युवराज कुुखुरा पाल्ने योजनासहित चितवनमा बसाइँ सरे । चितवनमै खोर बन्यो । कुखुराका चल्ला पनि हालियो । चल्ला बढ्दै गए । चल्लाहरु कुखुरामा परिणत भए । बेच्ने बेला पनि भयो । तर बेच्ने बेलाका कुखुरा भटाभट मर्न थाले । युवराजलाई “तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा” भने झैं भयो ।

मलेशियाबाट कमाएको अलिअलि रकम पनि यसले डुबायो । परदेशप्रतिको वितृष्णा कुखुरापालनको घाटाले कता हरायो कता । युवराज २०६९ सालमा दुबईका लागि उड्नु भयो । यो उनको दोस्रो वैदेशिक यात्रा थियो । उनका अनुसार दुबई पनि फापेन । मासिक १० हजार रुपैयाँको तलब खाना खान नै नपुग्ने । युवराज एक वर्षको दुबई बसाइलाई बिट मारेर गोजीमा १० हजार रुपैयाँ बोकेर नेपाल फर्किए ।

त्यसपछि आफन्त भेट्न हेटौँडा आएका युवराजले हेटौँडामा सटर भाडामा लिएर दुनोट बनाएर बेच्न थाले । आँखै अगाडि ताजा दुनोट, सेल, जेरी, पुरी बनाउँदै गरेको देखेपछि ग्राहकहरु बढ्दै गए, व्यापार पनि बढ्दै गयो । ठिकैको कमाइ भए पनि सटर भाडा महङ्गो भएकाले बचत हुन सकेन । युवराजले हेटौँडामा ठेला किचेन खुब चलेको देखिरहनुभएको थियो । साँझपख हेटौँडाका सडक किनारमा मोमो, ससेस, चप, पकौडा, चटपटेलगायतका खानेकुराका ठेला किचेनहरु देखेपछि युवराजलाई त्यस्तै पसल चलाउन मन लाग्यो र उनले त्यसै गरे ।

हेटौँडाको व्यस्त बजारबाट अलि पर हेटौँडा सिमेन्ट उद्योग जाने बाटोमा उनले ‘साइँला दाइको ठेला किचेन’ खोल्नु भयो । बजारले नयाँ तर स्वादिला परिकार खोज्छ भनेर केराको नयाँ परिकार कल्पना गरे र नाम राखे ‘बनाना ससेस’ । आज त्यही बनाना ससेसले युवराजको धेरै पैसा कमाउने सपना पूरा गर्दैछ र परिवारका चाहनाहरु पनि । आज साँइला दाइको ठेलाबाट दैनिक अपरान्ह ३ बजे देखि साँझ ८ बजेसम्ममा तीन–चार सय ग्राहक सन्तुष्ट बन्ने गर्छन् । यो सबै काममा सहयोग गर्छन् उनकी श्रीमती निरु । “फ्रन्टमा म छु व्याकग्राउण्डमा मेरी वाइफ,” युवराजले नेपालीमा अङ्ग्रेजी मिसाएर भने । निरु भने ठेलामा के सकियो वा के आवश्यक पर्यो याद गरेर बस्छन् । सकिएका चिजबिज कोठाबाट ल्याइ हाल्छन् । दुई छोराका अभिभावक बनिसकेको यो जोडीको सफलताका कथाले चाहना भए आफ्नै देशमा बसेर केही गर्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गरेको छ । रासस