चितवन – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताएका छन् ।


ADVERTISEMENT


पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई मंगलबार संबोधन गर्दै विकास निर्माणमा सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उनले भने, “तपाईहरु के नठान्नुहोल भने माथि खिचातानी छ कि भन्ने तर त्यसो होइन ।”


ADVERTISEMENT

# # #


अध्यक्ष दाहालले भने, “राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ ।” जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न उनले सुझाव दिए । अध्यक्ष दाहालले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्न पुनःनिर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको बताए । दुई वर्षपछि प्राधिकरण नहुने भन्दै यसले हासिल गरेका अनुभवलाई स्थानीय तहमा पुर्याउन लागिएको उनले बताए । पुनःनिर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने उनले बताए । रासस