किशोर विश्वकर्मा, विराटनगर– लामो समयदेखि सडक र नालाको निमार्णकार्य रोकिएपछि विराटनगर महानगरपालिका वडा नं ४ र ५ का स्थानीयवासी विरोधमा उत्रिएका छन् । सडकमै पत्रकार सम्मेलन गर्दै स्थानीयले वडा नं ४ र ५ को सीमामा रोकिएको निर्माणको काम एक हप्ताभित्र अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


जामुनेश्वर मार्गमा एसियन विकास बैैंकको सहयोगमा मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गत सडक नाला निर्माणको काम भईरहेको थियो । निर्माणकै क्रममा महानगरपालिकाले नियमविपरीत घर मिचेर सडक बनाउन खोजेको भन्दै केही स्थानीयले महानगरपालिकाविरुद्ध नै मुद्धा दायर गरेका थिए । उच्च अदालत विराटनगरले आफ्नो नम्बरी जग्गाभित्र सडक बनाउन खोजेको दाबी गर्ने घरधनी र महानगरपालिकालाई छलफलमा बोलाई ४ घरले दाबी गरेको जग्गा बाहेकका ठाउँमा निर्माण कार्य गर्न मिल्ने बताएको थियो । तरपनि गत फागुनपछि ठप्प भएको निर्माणको काम अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


पुलचोक देखि नहरसम्म निर्माण ठप्प भएको सो २५ मिटरको सडकको काम अघि बढाउनुपर्ने स्थानीयबासीको माग रहेको छ । सडक छेउको नाला निर्माणको क्रममा भएका खाल्डा तथा जीर्ण सडकका कारण आफुहरुलाई असर परेको स्थानीय बताउँछन् । बाटो बनाउन महानगरपालिकामा दबाब दिँदा अदालतमा मुद्दा छ भनेर टार्ने गरेको स्थानीयले गुनासो गरे।

विराटनगर जामुनगाछीकी लक्ष्मी थापाले चाँडोभन्दा चाँडो सहमति गरेर काम थाल्नुनर्पे बताइन् । ‘यस क्षेत्रको विकासका लागि डेढ करोड बजेट छुट्याएर राखेको छ अरे । नगरपालिकामा कुहाएर राखेर हुन्छ सहमति भएन भने ?’ उनले प्रश्न गरिन् ‘१० वर्ष सम्म मुद्धा चल्ला पर्खेर बस्ने हामीले बाटोको धुलो खाएर ? चाँडो सहमति गराओस ।’

त्यस्तै स्थानीय एपोलो भगतले पनि विराटनगर महानगरले मुद्धाको बहानामा विकास निर्माणको काम टार्न नमिल्ने बताए । उनले भने ‘हामीले महानगरपालिकालाई कर तिर्छौँ । हामी नगरवासि हौँ । तत्काल महानगरपालिकाले सडक नाला निर्माणको काम गरोस अन्यथा हामी जे पनि गर्न तयार छौँ ।’

यता केहीले भने आफ्नो नम्बरी जग्गामा महानगरपालिकाले सडकको नक्सा विपरीत मिचेर निर्माण गर्न लागेको आरोप लगाएका छन् । स्थानीय गंगा श्रेष्ठले नम्बरी जग्गामा बाटो र सडक महानगरले बनाएर आफुहरुको विल्लीबाठ लगाउन लागेको आरोप लगाए । उनले दक्षिणतर्फबाट सडक नक्सा रहेको र महानगरले उत्तरतर्फबाट आफ्नो जग्गा काट्ने गरी निर्माण गर्न लागेको गुनासो गरे ।

अदालतले समेत सडक निमार्ण अघि बढाउन बाटो खोलिदिएपछि पनि एउटा बाहानामा अड्किएर विकास निर्माणका कामहरु ठप्प पार्दा यहाँका स्थानीयवासी मर्कामा परेका छन् ।