सिन्धुपाल्चोक– राष्ट्रपतिदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारम्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् ।


ADVERTISEMENT


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित गुफाडाँडामा सोमबार आयोजित उक्त सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा मन्त्री, पूर्वमन्त्री, प्रदेश नं–३ का मन्त्री, सांसद, सतहत्तर जिल्लाका जिसस प्रमुख, उपप्रमुख, सिन्धपाल्चोकका सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित तीन हजारभन्दा बढी स्थानीयवासीको सहभागिता थियो ।


ADVERTISEMENT

# # #


उक्त नगरपालिकाले गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले त्यहाँ चिया बगानलगायत अन्य पूर्वाधारका योजना बनाउन स्थानीय तथा सरोकारवालासँग छलफल र विभिन्न विज्ञमार्फत सम्भाव्यता अध्ययनसमेत गराइरहेको छ ।

उक्त सम्मेलन गुफाडाँडामै आयोजना भएकाले यो ठाउँकोे पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय क्याउलेथाना आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरप दोर्जे तामाङ विश्वाश व्यक्त गर्छन् । यस्तै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरू लागिपर्ने नेकपाका जिल्ला कमिटी सदस्य बागवीर तामाङ बताउँछन् ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल चियाखेती सम्भव भए यसैमार्फत नभए अन्य माध्यमबाट भए पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लागिपर्नेमा जोड दिन्छन् । समुद्र सतहदेखिको दुई हजार ५५० मिटर उचाइमा रहेको उक्त डाँडाबाट दोर्जे लाक्पात थाजुगल हिमाललगायत अन्य हिमशृङ्खलाका साथै सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक तथा काठमाडौँका अधिकांश भूभाग प्रष्ट देख्न सकिन्छ । यस क्षेत्रमा सम्मेलन आयोजना हुने चर्चा चलेदेखि नै आन्तरिक पर्यटकको घुइँचो बढ्दै आएको छ ।

खर्च एक करोड पचास लाख

जिल्ला समन्वय समिति महासङ्घको आयोजना र सिन्धुपाल्चोक जिससको व्यवस्थापनमा भइरहेको उक्त सम्मेलनका लागि रु एक करोड पचास लाख खर्च हुने अनुमान गरिएको कार्यक्रमका व्यवस्थापन संयोजक कृष्णगोपाल तामाङ बताउँछन् ।

सम्मेलनका लागि मात्र रू ६४ लाख र मेलम्ची गुफा तथा नवलपुर गुफा मोटरबाटो सुधार र आयोजनास्थल निर्माणका लागि समेत गरी रू डेढ करोड खर्च हुने बताइएको छ । सम्मेलनका लागि सामुदायिक तथा वातावरण संरक्षण मञ्च, केयर नेपाल, गुड ह्याड्स नेपाललगायत गैरसरकारी तथा सरकारी सङ्घ संस्थाको सहयोग रहेको आयोजक संस्थाको भनाइ छ ।

गुफाडाँंडा नै किन त ?

जलवायु सम्मेलनपछि सिन्धुपाल्चोक र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले नै गुफाडाँडा रोजिएको सिन्धुपाल्चोक जिसस उपप्रमुख बालकुमारी सापकोटा बताउँछन् । हेलम्बु, मेलम्ची, जुगल हिमाललगायत जिल्लाका पर्यटकीय स्थलको प्रष्ट अवलोकन गर्न सकिने तथा यस क्षेत्रको प्रचारप्रसार पनि हुने उद्देश्यले उक्त स्थानमा कार्यक्रम गरिएको उनी बताउँछन् ।

जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नपर्ने समस्याले आगामी दिनमा खोला बगर मात्रै बाँकी रहने त हैन भन्ने गम्भीर प्रश्नमा पनि छलफल होस् भनेर मेलम्ची खोलाको मुहानसहित हिमशृङ्खला प्रष्ट देखिने उक्त स्थानमा सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ ।

सम्मेलन आजै समापन हुने

‘स्वस्छ नेपाल, स्वस्थ्य नेपाली’ भन्ने नाराकासाथ आयोजित उक्त सम्मेलन साझा ‘सिन्धु घोषणापत्र’ जारी गर्दै आज समापन हुँदैछ । उक्त सम्मेलनमा सोमाबार जलवायु विज्ञका ११ कार्यपत्रमाथि छलफल भएकामा आज पनि प्रस्तुत हुने ११ कार्यपत्रमा छलफल गरिने बताइएको छ । सम्मेलनमा ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञ सहभागी छन् ।

विश्वकै चिन्ताको विषय बन्दै गएको जलवायु परिवर्तनका विषय सशक्त ढङ्गले उठाउँदै स्थानीय तहले त्यसबाट हुने असर कम गर्न पहल गर्न सक्ने उपायबारे छलफल केन्द्रित छ । –देवराज सुवेदी/रासस