काठमाडौं । चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको ( तीब्बत इन्टरनेशनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर) वाणिज्य विभागबीच कृषि क्षेत्रमा सहयोग गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


बुधबार मन्त्रालयमा एक कार्यक्रम गरी कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नेपालको तर्फबाट योजना महाशाखा प्रमखु सहसचिव डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट विभागका प्रवन्ध निर्देशक बेन जेनले हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा सञ्‍चालन गरिने परियोजनामा मुख्य गरी आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गरिने मन्त्रालयका उपसचिव शंकर साप्कोटाले जानकारी दिए ।

यो परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म सञ्चालन हुनेछ । परियोजना सञ्चालनको लागि चीन सरकारले २७ मिलियन चाईनिज युआन सहयोग गर्ने घोषणा गरेको हो ।

यो परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना किसानलाई नेपालमै तालिम दिइने बताइएको छ ।