धनगढी– नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा माओवादीले खेलेको भूमिकाकै कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको बतएका छन् ।


ADVERTISEMENT


धनगढी उपमहानगरपालिकाको फूलबारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र, संविधानसभामार्फत संविधान निर्माण, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धि भएर मुलुक नयाँ संरचनानुसार निर्वाचनको चरणमा आइपुगेको बताए ।


ADVERTISEMENT

# # #


उनले नेपाली काँग्रेस र नेकपा(एमाले)ले पुरानै संरचनामा निर्वाचन गराउन खोजे पनि आफू प्रधानमन्त्री भएका बेला लिएको अडानका कारण मात्रै स्थानीय तहको चुनाव सम्भव भएको जिकिर गरे । पूर्वप्रधानमन्त्री प्रचण्डले भने–“साबिकको गाविसको चुनाव गराइएको भए सिंहदरबारको अधिकार गाउँ तहसम्म पुग्ने थिएन ।”

उनले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोडेर महानगरपालिका बनाउन सकिने र त्यसका लागि दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको बताए । उनले भने “केही समय मेहनत गरे धनगढी–अत्तरियालाई जोडेर सुदूरपश्चिमकै नमुना महानगरपालिका बनाउन सकिने सपना मैले देखेको छु ।”

उनले पहिलो पटक आफू प्रधानमन्त्री भएका बेला सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरेको र अहिले प्रधानमन्त्री हुँदा पनि पञ्चेश्वर परियोजना, महाकालीमा पक्की पुल, सुख्खा बन्दगाह, पश्चिम सेती, हुलाकी मार्गजस्ता ठूला परियोजनाको निर्माण प्रक्रिया अगाडि बढाएको बताए ।

सभामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उपमहानगरपालिका प्रमुख र उपप्रमुखका प्रत्याशी क्रमशः रामसमझ राना थारु र शान्ति अधिकारी क्षेत्रीलगायतले पनि बोलेका थिए ।