काठमाडौं । नेपालमा क्रिस्चियन धर्मको प्रचार बढ्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र हिन्दुराज्य कायम गर्नुपर्ने बहस सुरु भएको छ ।


ADVERTISEMENT


कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको भेलामा सहभागी भएकाहरुले आगामी महासमिति बैठकबाटै धर्मकाबारेमा ठोस निर्णय गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


देशैभरबाट धादिङको घाटबेसीमा भेला भएका कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले हिन्दुधर्म नासिने अवस्थामा पुगेको र संस्कारहरुसमेत धरासायी हुँदै गएको भन्दै मुलुकलाई हिन्दुराज्य कायम गर्नेगरी पार्टीले बहस अघि बढाउनुपर्ने बताएका छन् ।

उनीहरुले कम्युनिस्ट नेतृत्वको सरकार परम्परा र हिन्दुधर्मलाई नासेर क्रिस्चियन धर्म प्रचारमा केन्द्रित भएको भन्दै महासमिति बैठकबाटै पार्टीले हिन्दुधर्मकाबारेमा स्पस्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताएका छन् । बैठकमै कतिपय कोषध्यक्षहरुले यो प्रस्ताव नै राखेका छन् ।

संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेकाले आफैंले बनाएको संविधानको खिलापमा बोल्न गाह्रो भएको तर्क गर्ने कांग्रेस जिल्ला कोषाध्यक्षहरुसमेत हिन्दुधर्मका विषयमा जनमतसंग्रह आवश्यक भएको बताउन थालेका छन् ।

हिन्दुधर्मका विषयमा नेपाली कांग्रेसले जनमतसंग्रहका लागि महासमिति बैठकबाट प्रस्ताव पारित गर्नुपर्ने मत कतिपय कोषध्यक्षको छ ।

कांग्रेसभित्र पछिल्ला दिनमा हिन्दुधर्मबारेको बहस बढ्दै गएको छ ।

केही दिनअघिमात्र नुवाकोटको ककनीमा भएको जिल्ला सभापतिहरुको बैठकमासमेत सभापतिहरुले अनौपचारिकरुपमा यो विषयलाई गम्भीरताका साथ उठाएका थिए ।

कोषाध्यक्षहरुले महासमिति बैठकमा आफूहरुलाई पनि प्रतिनिधित्व गराउन माग गरेका छन् ।

आर्थिकरुपमा पार्टीलाई पारदर्शी र सबल बनाउन ‘लेवी’ प्रणालीलाई विधानमै व्यवस्थित गर्न माग गरेका कोषाध्यक्षहरुले विधानमा लेखिने तर कार्यान्वयन नहुने कुराको अर्थ नहुने बताएका छन् ।

उनीहरुले पार्टी गुटका कारण पार्टी धरासायी भएको भन्दै नेतृत्वलाई एक भएर कार्यकर्तामा ऊर्जा भर्न अपील गरेका छन् ।

पार्टी विधानमा आफ्ना कुरा समेट्न महासमिति बैठक नजिकिँदै जाँदा पार्टीभित्र दबाब समूहको बैठक पनि बढ्दै गएका छन् ।