– दिपक मल्होत्रा, उपाध्यक्ष, नेपाल चेम्वर अफ कमर्स एवं अध्यक्ष, इन्टिग्रेटेड मोबिलिटी सोलुसन ( आईएमएस )


ADVERTISEMENT


पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? नेपालमा कस्तो चलिरहेको छ मोबाइल व्यापार ?


ADVERTISEMENT

# # #


विगत सात आठ वर्षदेखि नेपालमा मोबाइल फोन इम्पोर्ट गर्दा हामी व्यापारीहरुको पहलमा अर्थमन्त्रालय र नेपाल सरकारले यसमा सहुलियत गरेको थियो । र भन्सार शून्य थियो । जसले गर्दा चोरी पैठारी प्राय शून्यजस्तै थियो । त्यो बेला व्यापार धेरै राम्रो थियो । तर यसपालीको असार मसान्तमा नयाँ बजेटले मोबाइलमा गरिएको भ्याट सहुलियतलाई हटाइएको छ । हामीले पनि भ्याट हटेपनि चोरी पैठारी हटाउनका लागि आईएमई नम्बर लक गर्नुपर्छ भनेका थियौँ । त्यो गरेमा चोरी पैठारी गरेको फोन कसैले ‘एक्टिभेट’ नै गर्न सक्दैन । यो कुरामा सहमति भएर अगाडी बढेको छ । त्यो गरेपछि हामीलाई भ्याट सहुलियत नभएपनि समस्या छैन भनेर कुरा राखेका थियौँ । चाँडै नै आइएमई नम्बर लक गर्ने र भ्याट फिर्ता नगर्ने भन्ने कुरामा हामीले आपत्ति जनाएनौँ । तर, यहाँ भने भ्याट फिर्ता नदिनुको साथसाथै ५ प्रतिशत अरु थपियो ।

जसले गर्दा मोबाइल फोन आयात गर्दा १८ प्रतिशत भ्याट तिर्नुपर्ने अवस्था छ । छिमेकी देश भारतमा मोबाइल आयात गर्दा १२ प्रतिशत मात्रै भ्याट तिर्नुपर्छ । त्यसले हाम्रो सीमामा चोरीपैठारी एकदमै बढाएको छ । जसको परिणाम ४० प्रतिशत मोबाइल बजार घटिसकेको छ । यसमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ । अहिले डलरको भाउ बढेको अनुपातमा, भ्याट बढेको अनुपातमा बेच्ने हो भने अहिलेको भन्दा मोबाइलको दर धेरै माथी हुन्थ्यो । तर, हामीले जतिपनि सामसुङ मोबाइल बेचिरहेका छौँ, त्यो सबैमा हामी घाटा ब्यहोरिरहेका छौँ । नाफा पनि घटेपछि, बिक्री पनि घटेपछि डरलाग्दो स्थिति सिर्जना भएको छ ।

यो घाटालाई माथि उकास्ने उपाय के हो त ?

गाडीमा नम्बर प्लेट बिना चलाउन नमिल्ने भएकाले कसैले पनि चोरीपैठारी गर्न सक्दैन । त्यसमा नियन्त्रण भएको छ । २ सय भन्दा ३ सय प्रतिशत कर तिर्नुपरेपनि किन्ने मान्छेले किन्छ । त्यस्तै मोबाइलमा पनि यो आइएमई नम्बर लक गर्ने व्यवस्था लागू भएपछि चोरी पैठारी नियन्त्रण हुन्छ । यो नेपाल दूरसञ्चार प्राधिकरणले गर्ने काम हो । तुरुन्तै गरिदेओस् भन्ने हाम्रो आग्रह छ । त्यसपछि हाम्रो बिग्रिएको बजार पूरानै स्थितिमा आउँछ ।

यो आइएमई नम्बर लक गर्ने भनेको के हो ? यसले कसरी चोरीपैठारी नियन्त्रण गर्छ ?

मोबाइल फोन हामीले आयात गर्दा हरेक मोबाइल फोनको छुट्टाछुट्टै आइएमई नम्बर हुन्छ । डबल सिम लाग्नेमा डबल आइएमई नम्बर हुन्छ । मोबाइल आयात गर्नुअघि मोबाइल कम्पनीले हामीलाई आइएमई नम्बर पठाइसकेको हुन्छ । त्यो नम्बर हामी नेपाल दूर सञ्चार प्राधिकरणलाई पास गरिदिन्छौँ । त्यसपछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल, स्मार्ट लगायतका जति पनि सेवा प्रदायक कम्पनीहरु छन्, तिनीहरुको प्रणालीमा त्यो नम्बर राखिन्छ । त्यसपछि ग्राहकले मोबाइल किनिसकेपछि त्यसमा सिम कार्ड राखेर अन गर्दा आइएमई नम्बर त्यो सेवा प्रदायकसंग मिल्यो भने मोबाइल एक्टिभेट हुन्छ, मिलेन भने एक्टिभेट हुँदैन । भनेको, चोरी पैठारी भएको मिल्दैन, आयात गरिएको मात्र मिल्छ । जसले गर्दा चोरी पैठारी बन्द हुन्छ । त्यसले हाम्रो बजारलाई घट्न दिँदैन । त्यसको लाभ सरकारले राजश्वमार्फत उठाउँछ ।

देशले लामो समयपछि राजनीतिक स्थायित्व पाएको छ । यो बेलामा विकास र समृद्धिको एक मात्र एजेण्डा अगाडि बढाइरहँदा तपाई जस्ता व्यवसायीहरुलाई काम गर्न कत्तिको सहज भएको छ ?

नेपालमा बहुदल र प्रजातन्त्र आइसकेको हामी आज २९ वर्षमा गुज्रिरहेका छौँ । यो समयमा लगभग २९ जनाकै हाराहारीमा प्रधानमन्त्री फेरिए । प्रत्येक ९ महिनामा सरकार बद्लिन्छ, नयाँ आउनेले कस्तो नीति ल्याउँछ भन्ने हुन्थ्यो । जसले गर्दा लगानीकर्ताले सोच्नुपर्ने बेला थियो । अहिले बहुमतको सरकार आइसकेपछि हामी व्यापारीहरु साह्रै उत्साहित भयौँ । राजनीतिक स्थायित्व आयो, अब देशमा लगानीको वातावरण हुनेछ, व्यापारीले राज्यबाट पाँच वर्षको लागि सुरक्षा पाउँछ भन्ने थियो ।

तर, अहिले त्यो खालको वातावरण बन्न सकिरहेको छैन । अलमलको वातावरण सिर्जना भइरहेको जस्तो देखिन्छ ।अर्थनीतिमा मूल्य निर्धारण भएको छैन । मैले आयात गरेको सामान म जतिमा पनि बेच्न पाउँछु । यदि उपभोक्तलाई महंगो परेको खण्डमा प्रतिस्पर्धाको खुला बजारमा अन्त पनि किन्न सक्छ । हामीले आफूले कारोबार गरेको सामानको कर सरकारलाई तिरिरहेका छौँ । तर, यो २० प्रतिशतभन्दा बढी नाफा खानुहुन्न भनेर जुन किसिमको अनुगमन भइरहेको छ, त्यसको विरोध हामीले पक्कै गरेका होइनौँ । तर, चोरी पैठारी गरेर ल्याइएको हो कि, नक्कली सामान बिक्रि भइरहेको छ कि, मिसावट भएका सामान बिक्रि भइरहेको छ कि ? यस्ता कुराको अनुगमन गर्नुपर्यो भन्ने हाम्रो मान्यता हो । म आफू सकारात्मक मान्छे भएकाले अब केही होला कि भन्ने आशा लिएर बसेको छु ।

तपाई च्याम्बर अफ कर्मसको नेतृत्व तहमा पनि हुनुहुन्छ । विकास र समृद्धिको लक्ष्य भेटाउनका लागि सरकारले यहाँहरुसंग कसरी सहकार्य गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

हामी व्यापारीले दिएको सुझाव यिनीहरुले आफ्नो फाईदाका लागि मात्रै बोल्छन् भन्ने सोचाइ सरकारी पक्षमा रहेको देखिन्छ । सबैभन्दा पहिला हामीले दिएको सुझावलाई सरकारले सकारात्मक रुपमा पनि हेर्नुपर्छ । व्यापारीले पनि केही हदसम्म राम्रै कुरा बोलेको हुनसक्छ भन्ने बुझ्नु पर्छ । हामी सरकारलाई कहिल्यै पनि गलत सुझाव दिन्नौँ । हामीले नै गलत सुझाव दियौँ भने पदमा बसेको के औचित्य रह्यो ? त्यस कारण त्यसलाई सकारात्मक रुपमा लिनुपर्यो र राम्रा कुरालाई कार्यान्वयन गर्नुपर्यो । त्यो भएमा देश धेरै अगाडि बढ्छ जस्तो लाग्छ ।

तपाई लामो समयलदेखि यो क्षेत्रमा हुनुहुन्छ । यो देशको लागि तपाईले आफ्नो तर्फबाट देख्नु भएको गन्तव्य के हो ?

आज हाम्रो अर्थतन्त्र रेमिटेन्सले मात्रै धानिरहेको छ । व्यापार घाटा बढिरहेको अवस्थामा रेमिटेन्स नै एक मात्र डलर भित्र्याउने बाटो बनेको छ । कहिलेसम्म हामी रेमिटेन्सको भरमा बस्ने त ? हाम्रो युवाहरुले कमाएको पैसाले गर्दा आज हाम्रो प्रतिव्यक्ति आय बढेको छ । त्यो एकदम राम्रो कुरा हो । तर, यसले पार्ने दीर्घकालीन असरको बारेमा हामीले सोच्नैपर्छ । अहिले सबै युवाहरु विदेशमा छन् । तपाईहरु गाउँतिर जानुभयो भने बच्चा र बुढापाका मात्रै देख्नुहुन्छ । यसल हाम्रो भविष्य अन्धकारमा गइरहेको संकेत गर्छ । यसलाई विस्थापित गर्नका लागि पहिलो कुरा नेपालका लागि पर्यटन नै भविष्यमा एउटा यस्तो स्रोत हुन सक्छ । बुद्ध र सगरमाथालाई मात्रै पनि हामीले प्रवद्र्धन गर्न सक्यौँ भने पनि नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुन्छ । यस्ता विभिन्न पर्यटकीय ठाउँहरुको प्रचार गरेर हामीले लाखौँ पर्यटक भित्र्याउन सक्यौँ भने रोजगारीका साथै अर्थतन्त्रलाई पनि बलियो बनाउँछ । यही सोचेर म पनि रिसोर्टदेखि लिएर अन्य होटेल व्यवसायतिर लागेको छु । विदेशी मुद्रा आर्जन गर्ने ठूलो स्रोत भनेको हाम्रो देशमा पर्यटन नै हो ।

दोस्रो कुरा जलविद्यत् हो । हामीले बेच्न नसकेपनि आफूलाई चाहिने विद्युत् उत्पादन गर्न सक्यौँ भने भारतीय बिजुलीका लागि विदेशिने मुद्रा बचत हुन्छ । विद्युत उत्पादन भएपछि विद्युतीय गाडी र अन्य सामानहरु सञ्चालन गर्दा यसले ग्यासलाई, पेट्रोललाई विस्थापित गर्नसक्छ । जसले हाम्रो अर्बौँ रुपैयाँ बचाउँछ । त्यसको लागि जलविद्युतमा म आफूपनि लागेको छु । अर्को भनेको हामीले सानैदेखि सुन्दै आएको क्षेत्र कृषि हो । विभिन्न उचाई भएको हाम्रो देशमा जडिबुटीदेखि लिएर माटो सुहाउँदो बाली उब्जाउन सक्छौँ । यसलाई आधुनिकिकरण गरियो भने कृषिजन्य उत्पादन बढाउन सकिन्छ । जसले पनि आयात घटाएर निर्यात बढाउँछ । यसका लागि हामी इजरायल अध्ययनका लागि जाँदैछौँ ।

आफ्नो यात्रा पछाडी फर्किएर हेर्दा कस्तो पाउनुहुन्छ ? सफलताको टिप्स के दिनुहुन्छ ?

मेरो जीवनमा पनि धेरै उतार चढावहरु आए । तर, इमान्दारिता मैले कहिल्यै पनि त्यागिन । यदि तपाईमा इमान्दारिता छैन भने खराब दिनमा तपाईलाई कसैले पनि साथ दिँदैन । यदि इमान्दारिता भयो भने तपाईलाई कठिन परिस्थितिमा पनि सहयोग गर्नेको कमी हुँदैन । त्यो मैँले पनि भोगेको छु । मेरो विषयमा भएका कतिपय नकारात्मक टिप्पणीहरुको पछि लागेमा मेरो कसरी विकास हुन्छ ? त्यसले गर्दा म त्यो कुरालाई वास्तै गर्दिन । म आफ्नो गति लिएर अगाडि बढिरहेको छु । अर्को कुरा के भने तपाई जति पनि व्यवसाय गर्नुहुन्छ, त्यसमा तपाईको नियन्त्रण छ भने त्यो व्यवसाय गर्नुस्, नत्र हात नहाल्नुस् ।

कतिपयले त्यसमा आफ्नो पहुँच नहेरी नाफा आउँछ भन्ने आधारमा मात्रै लगानी गरेका हुन्छन् । त्यो राम्रो होइन । त्यसकारण आफ्नो हातमा आएको काम मात्रै गर्नुस् । अर्को महत्वपूर्ण के हो भने यदि तपाईले कुनै साथीसंग काम गरिरहनु भएको छ र राम्रो हुँदाहुँदै पनि छुट्टिनुपर्ने अवस्था आयो भने फेरि त्यही काम सञ्चालन नगर्नुस् । इगोको भरमा कुनै पनि व्यवसाय सफल हुँदैन ।

अन्त्यमा, के भन्नुहुन्छ ?

मैले अघि पनि भनेँ, म अलि सकारात्मक धारणा भएको मान्छे हो । देशमा जस्तोसुकै अन्योलको वातावरण भएपनि हरेक कुराको दुईवटा पक्ष हुन्छ । आन्दोलनदेखि सारा कुराहरु हामीले व्यहोरिसकेका छौँ । अस्थायी सरकार र तिनको काम पनि देख्यौँ । मेरो विचारमा अब अलिकती संयमता कायम गरौँ । आउने दिनमा नेपाल र नेपालीका लागि भबिश्य धेरै राम्रो छ भन्ने कुरा दिमागमा राखेर हामी अगाडी बढौँ । प्रधानमन्त्रीको सुखी नेपाली र समृद्ध नेपालको नारालाई साथ दिउँ । म यही भन्न चाहन्छु ।

फोटोहरु: google/Deepak Malhotra