खजुरा, बाँके – रु एक अर्ब ७१ करोड लागतमा नेपालगन्ज उपमहानगरपालिकाका सडक स्तरोन्नति गरिने भएको छ ।
एसियाली विकास बैंकको अनुदान सहयोगबाट जिल्लाका ४० सडक स्तरोन्नति हुने भएका हुन् । सडकसँगै नालासमेत निर्माण गरिनेछ । सडकका लागि ठेक्क प्रक्रिया सुरु भएको उपमहानगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT


सो कार्यालयका अनुसार नगरका ४० स्थानमा ४३ किमीभन्दा बढी सडक तथा नाला निर्माण गर्न लागिएको छ । उपमहागनरपालिकाले गत भित्री सडक तथा ढल निर्धारित मापदण्डअनुरुप बनाउन सडक, नाला र ढल क्षेत्रफलमा बनेका घर तथा भौतिक संरचना हटाउन २१ दिने सूचना जारी गरिसकेको छ ।


ADVERTISEMENT

# # #


“तोकिएको समयमा संरचना नहटाएमा उपमहानगरपालिका आफैँले हटाउने छ”, उपमहानगरपालिकाको सूचनामा उल्लेख छ, “उपमहानगरपालिकाले संरचना हटाउँदा लागेको खर्चसमेत सम्बन्धित जग्गा, घरधनीबाटै असुल गरिनेछ । टेन्डर स्वीकृत भएसँगै धमाधम निर्माणको काम सुरु हुनेछ ।” उपमहानगरपालिकाले सडक क्षेत्रफलको चिह्नसमेत लगाइसकेको छ ।

यसअघि एकीकृत सहरी विकास परियोजनाले समेट्न नसकेका क्षेत्रलाई विकास गर्न दोस्रो चरणको अनुदान सहयोग आउन लागेको हो । मुख्यगरी धम्बोझी, घरबारीटोल हुँदै त्रिवेणीमोड, त्रिवेणीमोड–त्रिभुवन चोक हुँदै चारवाहिनी, गणेशमान चोक, भृकुटीनगर हुँदै दोन्दरा नालासम्म सडक तथा नाला निर्माण गरिनेछ ।

उपमहानगरपालिकाले सदरलाइन सडकखण्डका लागि १४ मिटर सडक क्षेत्रफल तोकेको छ । केही घरधनीले घर भत्काए पनि अधिकांशले सडक क्षेत्रफलका सम्बन्धमा उपमहानगरपालिकाले सूचना जारी नगरेको भन्दै सडकका लागि क्षेत्रफल छाड्न आनाकानी गर्दै आएका थिए । “सदरलाइनको सडक १४ मिटरको हो, यसमा आशङ्का गर्नुपर्दैन, ठेक्का प्रक्रिया सकिनेबित्तिकै काम सुरु हुने छ ”, इन्जिनियर शैलेन्द्र महर्जनले भने ।