काठमाडौँ– देशभर ६ महिनादेखि पाँच वर्षसम्म्का बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ । यस्तै भिटामिन ए संगै जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा पनि खुवाइँदैछ । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका /स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् ।


ADVERTISEMENT


कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ ।


ADVERTISEMENT

# # #


यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गरिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका/नगरपालिका)ले गरेका छन् ।

बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ ।

भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइदैछ । सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो ।

बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

पाखुराको नाप किन ?

मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्छन् । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ ।

बाल स्वास्थ्य महाशाखा प्रमुख डा गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयम्सेविकारस्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् ।