काठमाडौँ– पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर टाइटान्सले लगातार तेस्रो हार ब्यहोरेको छ ।


ADVERTISEMENT


विराटनगर आज ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौँ रोयल्ससंग ५ विकेटले पराजित भएको हो ।


ADVERTISEMENT

# # #


पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४९ रन बनायो । १५० रनको चुनौति पच्छ्याएको काठमाडौँले १९.२ ओभरमा ५ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको हो ।
काठमाडौँको जितका लागि गौरव तमोरले सर्वाधिक ६६ रन प्रहार गरे । ४६ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हानेका थिए ।

यस्तै अमित श्रेष्ठले ३५ र ज्ञानेन्द्र मल्लले १७ बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका लागि साहव आलमले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने, जितेन्द्र मुखिया र किशोर महतोले समान १/१ विकेट हात पारे ।

यसअघि विराटनगरका लागि मोहम्म्द जियाद आलमले ६७ रन बनाएका थिए । यस क्रममा उनले ७ चौका र ४ छक्का हानेका थिए । यस्तै सुनिल धमला र राजेश पुलामी मगरले समान ३०/३० रन जोडेका थिए । काठमाडौँका लागि सुशन भारी, वसन्त रेग्मी र गौरव तोमारले समान २/२ विकेट लिए ।

अर्को खेलमा औ पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोज र शरद भेषवाकरको पोखरा पल्टनले प्रतिस्पर्धा गर्नेछन् ।