पोखरा– सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन् । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उनले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताएका छन् ।


ADVERTISEMENT


हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पु¥याउने सभामुख महराले बताए । नेपाल दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको र यी दुवैलाई जोड्न सक्ने क्षेत्रका रुपमा पोखरा रहेको उनले उल्लेख गरेका छन् । स्वस्थ्य खेलबाट स्वस्थ्य जनशक्ति तयार गर्ने र यसको बहुआयामिक महत्व रहेको बताउँदै सभामुख महराले प्रतियोगी टिमलाई विजय हासिल गर्न शुभकामना दिएका छन् ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने बताए । प्राकृतिक सुन्दरताले भरिभराउ पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसक्ने किसिमले पूर्वाधार विकास गर्नुपर्ने उनले बताए । खेलाडी र निजी क्षेत्रको प्रयासमा मात्रै पनि खेल क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको बताउँदै उनले पूर्वाधार एवं आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यको भएको बताए ।

प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको रमणीय वातावरणले देशी विदेशी खेलप्रेमीलाई लोभ्याउने बताएका छन् । प्रदेशसभा सदस्य दीपक कोइरालाले यस किसिमका प्रतियोगिताले पोखराको आर्थिक गतिविधि पनि बढाउने विश्वास व्यक्त गरेका छन् । आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले यो प्रिमियर लिग नेपालमा आयोजित हुने सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता भएको बताएका छन् । प्रतियोगितालाई लक्ष्य गरी तीन महीनादेखि पूर्वाधार निर्माण गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु १० लाख प्राप्त गर्नेछ । पिपिएलले टाइटल स्पोन्सरमा नमस्ते प्रिमियम लागर बियरको साथ पाएको छ भने लिगको पावर्ड बाइमा ग्रान्डमास्टर त्रिपल एक्स रम रहेको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई भिजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसी मोटरसाइकल प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ विजेताले गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने जनाइएको छ ।

प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद रु १० हजार र प्रायोजकबाट (एक्स्टेप, सुविसु, आदि) रु पाँच हजार बराबरको गिफ्ट एवं ह्याम्पर प्राप्त गर्नेछन् । पिपएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार रु १५ हजार ५०० प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुविसुको प्रिमियम प्याकेज प्राप्त गर्ने जनाइएको छ । आजको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन भिड्नेछन् । त्यस्तै प्रतियोगितामा विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौँ रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी छवटा टिम सहभागी हुनेछन् । प्रतियोगितालाई लक्ष्य गरी लगभग चार हजार ५०० सिट क्षमताको प्याराफिट बनाइएको छ । रासस