काठमाडौँ – नेकपा एमालेका सांसद तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्ण गोपाल श्रेष्ठले समितिका सभापति रामहरि खतिवडालाई कर्सी छाड्न आग्रह गरेका छन् ।
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे भएको गडबडीपछि बुधबार बसेको समितिको बैठकमा बोल्ने क्रममा श्रेष्ठले सभापति खतिवडाले कुर्सीमा बस्ने अधिका गुमाइसकेका बताए ।
आफूले हस्ताक्षर गरेको विधेयकमा थाहा छैन भन्न वा कर्मचारीलाई दोष दिएर उम्किन नपाइने बताउँदै उनले खतिवडाबाट गम्भीर गल्ती भएको आरोप लगाए । उनले भने, ‘सभापतिज्यू, तपाईंलाई अब यो कुर्सीमा बस्ने अधिकार छैन । यो गम्भीर अपराध हो ।’ उनले भने, ‘यदि यस्तो भएन भने (राजीनामा आएन भने) कुनै पनि समितिको इज्जत रहँदैन र सांसदको बाहिर प्रतिष्ठा हुँदैन । तपाईंले हाम्रो लागि पनि र तपाईं आफ्नै लागि पनि मार्ग प्रशस्त गरिदिनुस् ।’
यस्तै उनले समितिका सचिव सुरज कुमार दुरालाई नैतिकताका आधारमा समिति छाड्न आग्रह गरे । उनलाई आफूहरु अबउप्रान्त सचिवका रुपमा देख्न नचाहेको बताए । ‘तपाईंले हिजोदेखि त्रुटी भयो, त्रुटी भयो भनेर कराउँदै हुनुहुन्छ । लाज छैन ? यत्रो ठूलो गल्ती गर्ने अनि त्रुटी भयो भन्ने ? यो अपराध हो ।’ श्रेष्ठ झोक्किए, ‘समितिको सचिव बन्ने नैतिक अधिकार तपाईंलाई आजदेखि गुम्यो । भोलिदेखि हामी तपाईंलाई सचिवका रुपमा मान्दैनौँ । यो अन्तिम बैठक हो ।’
उनले सभामुख, संघीय संसदको महासचिव वा कसलाई भनेर हुन्छ, राज्य व्यवस्था तथा सुशासन समितिबाट आफूलाई अलग्याइमाग्न दुरालाई सुझाए ।
समितिका सभापति खतिवडा र सचिव दुराईलाई जिम्मेवारीमा निरन्तरता दिनु भनेको सम्पूर्ण सदस्य निकम्मा, लाचार र अयोग्य साबित हुनु भएको बताउँदै उनले भने, ‘ हामी तपाईहरुको लागि त्यो निकम्मा र लाचारीको पगरी भिर्न तयार छैनौँ ।’