चितवन– धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ ।


ADVERTISEMENT


भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिगाहा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, शिव पञ्चायन मन्दिर निर्माण गरिँदै छ । नारायणी नदीबाट जल तानेर शिवको शिरबाट पाउसम्म झरेपछि कुण्ड हुँदै ११ मुखे धाराबाट झारेर स्नान गर्ने व्यवस्था गरिँदै छ ।


ADVERTISEMENT

# # #


देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीका अनुसार शिव मूर्ति निर्माणको काम थालिएको छ । तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताए ।

शिवको मूर्ति तामा, पित्तल, चरेस, ढलोट, सुन, चाँदी, सिसा र सिलभर (सिलौट) बाट निर्माण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि मात्रै रु चार करोड खर्च हुने अनुमान गरिएको छ । उनले भने, “धार्मिक पर्यटकलाई लक्षित गरी हामीले मूर्ति बनाउँदैछौँ ।”

प्रतिष्ठानका निवर्तमान अध्यक्ष राजेन्द्र पियाका अनुसार ४० फिट चौडा, ४० फिट लम्बाइ र नौ फिट गहिरो खाडलको छेउछेउमा शिव पञ्चायन मन्दिर र १०८ शिव लिङ्ग हुनेछन् । बीच भागबाट शिव मूर्ति निर्माण गरिनेछ । जमीनको सतहबाट ३० फिट अग्लो अष्टधातुको मूर्ति निर्माण गरिने उनले बताए ।

नारायणी नदीबाट पानी तानेर शिवको शिरबाट पाउँ (खुट्टा) हुँदै तीनवटा कुण्डमा जम्मा हुनेछ । पियाका अनुसार कुण्डबाट १०० मिटर पर पानी तानेर ११ वटा गौमुखे धाराबाट झारिने छ । ती धारामा भक्तजनले स्नान गर्न सक्नेछन् । नजिकै एउटा बाल उद्यान र अर्को सबैका लागि हुने गरी उद्यान निर्माण गरिनेछ । अत्याधुनिक ढङ्गबाट एक सय जना मानिस बस्न सक्ने क्षमताको धर्मशाला निर्माण पनि गरिने उनले जानकारी दिए ।

प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार विभिन्न ठाउँमा धाञ्याञ्चल महायज्ञ लगाएर रु ५४ लाख सङ्कलन गरिएको छ । प्रदेश सरकारबाट रु- ५० लाख विनियोजन भएको र सङ्घीय सरकारको पर्यटन मन्त्रालयसँग अपुग रकम माग गरिएको छ । विभिन्न दाताले सहयोगका लागि चासो देखाएको उनले बताए ।

सबै काम सम्पन्न गर्न रु आठ करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । पवित्र तीर्थस्थल देवघाट आउने भक्तजनका लागि यो पार्कसहितको शिव मूर्ति आकर्षक हुने र यसबाट यहाँको धार्मिक पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।