पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ ।


ADVERTISEMENT


प्रत्येक वर्ष आश्विन शुक्लपक्ष(दुर्गापक्ष) सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ ।


ADVERTISEMENT

# # #


फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

टीकाको दिन सार्वजनिक यातायातलाई सहज बनाइने

विजयादशमी अर्थात टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाउँपालिकामा सार्वजनिक यातायातलाई सहज बनाइने भएकोछ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको पहलमा पृथ्वीराजमार्ग, पोखरा बस र ट्याक्सी व्यवसायी समितिको संयुक्त बैठकले उक्त प्रतिबद्धता गरेका हुन् ।

पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले समितिमा आवद्ध बसमध्ये ५० प्रतिशत अर्थात् एक सय ५० भन्दा बढी बसले टीकाको दिन सर्वसाधारणलाई सेवा प्रदान गर्ने बताए।

ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाश तिवारीले समितिसँग आवद्ध माइक्रो बस उक्त दिन सञ्चालन गरिने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यातायात व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउँदै चाडपर्वका अवसरमा तोकिएको भन्दा बढी भाडा लिनेलाई कारवाही हुने बताए ।

टिकाको दिन बेलुका ६ बजेसम्म सार्वजनिक यातायातका साधन सहजरुपमा उपलब्ध हुने व्यववसायीले बैठकमा सामूहिक प्रतिबद्धता व्यक्त गरे ।