काठमाडौं– बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सीलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाको भन्दा तेब्बर बढी पारिश्रमिक दिने प्रस्ताव गरेको खुलेको छ ।


ADVERTISEMENT


अन्तराष्ट्रिय सञ्चारमाध्यहरु डेले मेल, द सन, सनडे एक्सप्रेस, गोल डट कम, मेट्रो न्यूज, का अनुसार बार्सिलोनाको कप्तान समेत रहेका मेस्सीलाई क्लब भित्र्याउने प्रयासमा प्रशिक्षक पेप गार्डिवला नै सक्रिय भएको क्लबका प्रमुख कार्यकारी खाल्दून अअल मुबारकले खुलाएका हुन् ।


ADVERTISEMENT

# # #


म्यानचेस्टर सिटीले अहिले बार्सिलोनामा पाइरहेको पारिश्रमिक भन्दा तेब्बर बढि दिने प्रस्ताव गरे पनि मेस्सीले अस्वीकार गरेका छन् । ३१ वर्षीय मेसीले आफ्नो करिअर एकै क्लबमा रहने भन्दै सो प्रस्ताव नकारेका हुन् ।

‘हामीले गुआर्डीओलालाई मेसीसँग वार्ता गरेर तीन गुणा तलबको प्रस्ताव राखेका थियौं । तर मेसी बार्सिलोना नछाड्ने निर्णयमा अडिग रहे,’ मुबारकले भने । मेसीले २०१७ को नोभेम्बरमा नयाँ सम्झौता गरिसकेका छन् । उनको नयाँ सम्झौता सन् २०२१ सम्म रहनेछ । मेसीको रिलिज कलज ७ सय मिलियन युरो राखिएको छ । बार्सिलोनाका यसअघिको क्यप्टेन आन्द्रेज इनियष्टा जापनीज क्लबमा आबद्ध भएसँगै बार्सिलोनाले मेस्सीलाई कप्तान बनाएको थियो ।

यो भन्दा अगाडि पनि मेस्सीलाई इटालियन क्लब ‘इन्टर मिलान’ले पनि ठुलै रकम खर्चिएर लाने चर्चा भएको थियो । पोचुर्गिज स्टार रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केही दिनपछि मेस्सीलाई ‘इन्टर मिलान’ले लान चाहेको चर्चा भएको थियो । मेस्सीलाई इन्टर मिलानले लिन चाहेको पिरिलीका सिइओ मार्को ट्रोनचेटी प्रोभेराले सार्वजनिक गरेका थिए ।

सानै उमेरदेखि बार्सिलोनाबाटै खेल्दै आएका मेस्सी अन्य क्लबमा जाने इच्छा खासै देखाएका छैनन् । उनलाई धेरै प्रस्ताव आए पनि अस्वाकार गर्दै आएका छन् । सन् २००० मा १३ वर्षको उमेरमै बाबुको साथ लागे बार्सिलोना पुगेका मेस्सीले २००१ मा नै बार्सिलोनाको चर्चित फुटबल स्कुल ‘ला मासिया’मा प्रवेश पाएका थिए । त्यहीबाट उनले फुटबलको ज्ञान पाए । मेस्सीले बार्सिलोना प्रवेश गरेको ४ वर्षमानै बार्सिलोनाबाट डेब्यू गरेका थिए । बार्सिलोमा प्रवेश गरेको ९ वर्षसम्ममा त मेस्सी चर्चित खेलाडी बनिसकेका थिए ।

सन् २००९ मा मात्रै मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लागि, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग, कोप डेल रे र युएफा सुपर लिगको उपाधि उचालेका थिए । आजसम्म मेस्सीले बार्सिलोनालाई २२ उपाधि दिलाइसकेका छन् । गत वर्ष मात्रै मेस्सीले बार्सिलोनालाई ‘ला लागि र कोप डेल रे’को उपाधि जिताई सकेका छन् । बार्सिलोनामा रहेर ९ सिजन खेलिसकेका मेस्सीले प्रत्येक सिजनमा ४० बढी गोल गरेका छन् । उनले २०११र०१२ सिजन लालिगामा सर्वाधिक ५० गोल गरेर गिनिज बुकमा नाम समेत लेखाउन भ्याइसकेका छन् ।