रत्ननगर, चितवन– दुर्लभ वन्यजन्तुको वासस्थान रहेका चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ ।


ADVERTISEMENT


नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेकोमा ३८ बर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको उनले बताए । निकुञ्ज स्थापनापछि क्षेत्रफल बृद्धि भएको यो दोस्रो पटक हो ।

विसं २०७३ सालमा राजपत्रमा प्रकाशित सुचनानुसार नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सिमा हेरफेर गरिएको जनाईएको छ । २०६० सालतिर निकुञ्जको पुर्वी सेक्टरमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सिमा बढाईएको अर्यालले जानकारी दिए ।

निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५४४ वर्गकिमी क्षेत्रफल रहेकोमा त्यसको पाँच बर्ष पछि अर्थात् २०३५ सालमा यसको क्षेत्रफल बढेर ९३२ वर्गकिलोमिटर र अहिले आएर निकुञ्जको क्षेत्रफल ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज विश्व संरक्षण सूचिमा छ । नेपालको पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुहरुको मुख्य बासस्थान क्षेत्र भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । यहाँको भौगोलिक बनावट पनि विश्वकै लागि फरकखालको रहेको उनले भने।

क्षेत्रफल बढेसँगै वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउँछन् । चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने यो निकुञ्जमा पछिल्लो गणना अनुसार गैंडा ६०५, बाघ १२०, गौरीगाई ३६८ रहेका छन् । त्यस्तै विभिन्न प्रजातिका सयौ वन्यजन्तु र चरा यस निकुञ्जमा पाउने गर्छन् । यसको मध्यवर्ती क्षेत्रफल भने ७२९ वर्गकिलोमिटर छ ।