बेसीसहर, लमजुङ – पर्यटकीय गन्तव्य काउलेपानीको थप प्रर्वद्धनको निम्ती स्थानीयवासीले विभिन्न कार्यक्रम बनाएका छन् ।


ADVERTISEMENT


सन् २०११ को पर्यटन वर्षको बेला होमस्टे (घरबास) कार्यक्रम सुरु गरिएको काउलेपानीमा पर्यटकलाई आकर्षित गर्न स्थानीय बासिन्दाले १२ महिने प्याकेज बनाएका छन् ।


ADVERTISEMENT

# # #


होमस्टेमार्फत काउलेपानी पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देव गुरुङका अनुसार पर्यटकलाई आकर्षित गर्न र उनीहरुको लामो बसाइँको लागि बाह्रमहिने प्याकेजको व्यवस्था गरिएको हो ।

गाउँमा आएका पर्यटकलाई चैतमा काफल तथा वैशाखमा ऐँसेलु खुवाइन्छ । पर्यटकलाई वनमा पुर्याइन्छ र आफै काफल तथा एेँसेलु टिप्न लगाउने गरिएको अध्यक्ष गुरुङको भनाइ छ । पर्यटकलाई जेठमा चुत्रो, हंगेरुलगायत जडीबुटीको बारेमा जङ्गलमै घुमाएर जानकारी गराने उनले बताए ।

त्यस्तै असारमा आउने पहुनाको लागि धान रोपाइँ प्याकेज बनाइएको छ भने साउनमा कोदो रोपाइँको व्यवस्था गरिएको छ । “असार र साउनमा पाहुनालाई खेतबारीमै लगेर स्वागत गछौँ,” गुरुङले भने ।

काउलेपानीमा बसोबास गर्दै आएको नेवार समुदायले देखाउने जात्रा पाहुनाको लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । गाईजात्रा, रोपाइँजात्रा, कृष्णजात्रा आदि देखाएर भदौमा पर्यटकलाई मनोरञ्जन प्रदान गरिन्छ । असोजमा जुनेली रातमा रोटेपिङ खेल्दै मादलको तालमा नाचगानको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए । सो समयमा मौसम खुल्ने भएकाले हिमालको अवलोकन समेत गराइन्छ ।

कात्तिकमा कटुस फलको याम हो । पर्यटकलाई जङ्गलमा पठाएर कटुस खोज्न लगाउने गरिएको छ । असारमा रोपेको धान मङ्सिरमा पाकिसक्ने हुनाले मङ्सिरमा आउने पाहुनालाई दाईँ प्याकेजको व्यवस्था छ । पर्यटकलाई दाईँ गर्ने खलोमा लगेर परालमा लडिबुडी खेलाउने, गोरु धपाउन लगाउने र वनभोज जस्तै खेतमै खाना खुवाउने गरिन्छ ।

यसैगरी पुसमा कोदो चुट्ने प्याकेजको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए । माघमा वन तरुलको प्याकेज बनाइएको छ । उनका अनुसार पाहुनालाई जङ्गल पठाउने र उनीहरुले खाजेर ल्याएको तरुल तरकारी बनाएर खुवाइन्छ । “फागुनमा घर आँगनमै लालीगुराँस लटरम्मै फुलिरहेको हुन्छ । त्यसैले लालीगुराँस प्याकेज बनाइएको छ,” अध्यक्ष गुरुङले भने ।

काउलेपानीमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकनै बढी आउने गरेका छन् । स्थानीयवासीले तयार गरेको १२ महिने प्याकेजमा पर्यटकले भरपुर मनोरञ्जन लिने गरेका छन् । यहाँको १३ वटा घरमा होमस्टे सञ्चालनमा गरिएको छ । एउटा घरमा आठ जनासम्म पाहुनालाई राख्न मिल्छ । काउलेपानीलाई ३५ औँ विश्व पर्यटन दिवसको अवसरमा मुलुकभरकै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरिएको थियो ।

यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत हिमशृङ्खलाको कोठाबाटै अवलोकन गर्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी मन्दिर, लमजुङका विभिन्न किल्ला काउलेपानीको आकर्षण हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर देख्न सकिन्छ भने चरीबाघ पनि यहाँ पाइन्छ ।

समुद्री सतहबाट एकहजार ६०० मिटर उचाइमा रहेको काउलेपानी पुग्न सदरमुकाम बेसीसहरबाट दुई घन्टा पैदल हिँडेर तथा बसबाट जान चाहनेका आठ किलोमिटरको यात्रा तय गर्नुपर्छ । सन्देश पौडेल/रासस