कैलाली– कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागु भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागुभएको छ ।


ADVERTISEMENT


धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


उनले प्रथम तह हर्न निषेधका लागि प्रचारात्मक अभियान चलाइने र त्यसपछि मात्रै कारबाहीको चरणमा जाने बताए ।

इमर्जेन्सी अवस्थाबाहेकका सामान्य अवस्थामा हर्न निषेधित क्षेत्रमा हर्न बजाएमा ट्राफिक इसारा उल्लङ्घन गरेको कसुरमा रु ५०० देखि एकहजार ५०० सम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको ट्राफिक प्रहरी निरीक्षक पातलीले बताए ।

बजारका मुख्य क्षेत्रमा रहेको बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि अत्तरियामा जेठ २५ गतेदेखि र धनगढीका केही क्षेत्रमा भने बिहीबारदेखि हर्न निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।