एजेन्सी– दुई गोलले पछि परेको स्थिति उल्टाउँदै न्युक्यासल युनाइटेडलाई हराएपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले राहत महसुस गरेका छन् ।


ADVERTISEMENT


खेलको शुरुवाती १० मिनेटमा नै युनाइटेड दुई गोलले पछि परेको थियो । केनेडी र योसिनोरी मुटोले न्युकासललाई अप्रत्यासित अग्रता दिलाए । लगत्तै माकर्स रासफोर्डको प्रयास बाहिरिएको थियो भने युनाइटेडका गोलकिपर डेभिड डि गेयाले मुटोको प्रयासलाई विफल बनाएका थिए ।


ADVERTISEMENT

# # #


दोस्रो हाफमा भने युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्यो । मोरिन्होले पुनरागमनको प्रयास स्वरुप एलेक्सिस सान्चेज, हुवान माटा र मारुएन फेलानीलाई मैदानमा प्रवेश गराए । खेलको ७० औँ मिनेटमा माटाले फ्रिकिक मार्फत युनाइटेडको पहिलो गोल फर्काए ।

६ मिनेट पछि एन्थोनी मार्सियालले खेल बराबरी गरे । खेलको अन्तिम मिनेटमा एस्ली यङको क्रसमा गोल गर्दै सान्चेजले युनाइटेडलाई ३–२ को जीत दिलाए ।

दुई वा सोभन्दा बढी गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडले जीत हासिल गरेको यो सातौँ पटक हो । उता न्युकासलले भने अहिलेसम्मकै खराब शुरुवात गर्दै ८ खेलबाट मात्र २ अंक बटुलेको छ ।

शनिबार भएकै अन्य खेलमा टोटनहमले १० खेलाडीमा सिमित कार्डिफ सिटीलाई १–० ले हरायो ।

त्यस्तै, वुल्भस्ले क्रिस्टल प्यालेसलाई समान अंकले हराउँदा बोर्नेमाउथले वाटफोर्डलाई ४–० गोलले हरायो ।