भादगाउँ– भक्तपुरको टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको जीर्णोद्वार शुरु गरिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त सो मन्दिर भक्तपुर नगरपालिकाले जीर्णोद्धार शुरु गरेको हो ।


ADVERTISEMENT


नगरपालिकाले न्हुछेराम भेलेको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिमार्फत सो मन्दिरको जीर्णोद्वार शुरु गरेको हो । पहिलो चरणमा मन्दिरको माथिल्लो छानाको जीर्णोद्वार गरिनेछ । त्यसका लागि नपासँग रु एक करोड ४१ लाखको लागतमा सम्झौता भएको छ ।


ADVERTISEMENT

# # #


सो बजेटले मन्दिरको सबैभन्दा माथिल्लो तल्लाको झिँगटी, झ्याल, टुँडाल फेरिनेछ । यसअघि विसं २०७४ मा सो मन्दिर जीर्णोद्वारका लागि रु एक करोड २७ लाख लागत अनुमान गरिएको थियो ।

मन्दिर जीर्णोद्वारका लागि अहिले बाँसको खट बाँध्ने काम भइरहेको छ । त्यसका लागि करीब ९०० बाँसको व्यवस्था गरिएको भेलेले जानकारी दिए । खट बाँध्न चित्तपोल र ताथलीबाट लामा–लामा ३५० बाँस र अरु साना लम्बाइका ४०० बाँस इलामबाट झिकाइएको छ । भक्तपुर नपा–८ को लाँतीकोचाबाट अरु थप ६० बाँस ल्याइनेछ । रासस