धनगढी– पक्की घरमा बस्न पाइएला भनेर मुक्तकमैया सुन्दरी चौधरीले कहिल्यै सोचेकी थिइनन्। तर कमैया मुक्तिपछि उनको परिवार अहिले पक्की घर बनाउने हैसियतमा पुगेको छ ।


ADVERTISEMENT


सुन्दरीका श्रीमान् नरेश डकर्मी काम गर्छन् । सुन्दरीले आफ्ना श्रीमान्को कामलाई सघाउँदै आएकी छन्। आफैँसँग घर निर्माणको सीप भएकाले कम लागतमा घर निर्माण गर्न सक्नेमा उनी आशावादी छिन् ।


ADVERTISEMENT

# # #


“डकर्मीको काम भ्याइनभ्याई छ,” चौधरीले भनिन् । आर्थिक अवस्था कमजोर भएकै कारण विगतमा छोराछोरीलाई विद्यालय पठाउन नसकेपनि अहिले उनले चार छोराछोरीलाई विद्यालय भर्ना गरेकी छन् ।

कैलालीको चौमालाका एक जना साहुमहाजनको घरमा कमैयाको रुपमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछि धनगढीको पुरानो हवाई मैदानमा अन्य मुक्तकमैया परिवारसँगै कच्ची घरमा बस्दै आएको छ । पुरानो हवाई मैदानमा बसेका मुक्तकमैया परिवारलाई प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउन पहल थालेको छ । जग्गाको पुर्जा नपाउँदै कतिपय मुक्तकमैया परिवारले पक्की घर निर्माण थालेका छन् । यहाँ करिब ५० मुक्तकमैया परिवारको बसोबास छ ।

आर्थिक अवस्था कमजोर रहेका मुक्तकमैयाले पछिल्लो पटक स्वरोजगारमूलक व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । त्यही कमाइबाट उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको छ ।

मुक्तकमैया गोपाल चौधरी विद्युतीय रिक्सा चलाउँछन् । उनले रु चार लाखमा रिक्सा खरिद गरेका हुन् । “मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ,” उनले भने । चौधरीले पक्की घर निर्माणको कार्य अगाडी बढाएका छन् ।

जिल्ला भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले हालसम्म झन्डै चार हजार मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालिम प्रदान गरिएको बताए । करिब ७० प्रतिशतले आफ्नो सीपको सदुपयोग गरेको उनको भनाइ छ । मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बङ्गुरपालन, कुखुरापालन, तरकारीखेतीलगायत विषयमा तालिम लिएका छन् ।

मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य सचिवसमेत रहेका कठायतले पुनःस्थापित भएका मुक्तकमैयालाई घर बनाउन चाहिने काठबापत प्रतिपरिवार रु एक लाख उपलब्ध गराएको बताए। जिल्लामा पहिचान भएका आठ हजार ९०० मुक्तकमैया परिवारमध्ये अधिकांशलाई पुनःस्थापित गरिएको छ । झन्डै ६०० परिवारलाई पुनःस्थापित गराउन बाँकी छ । रासस