काठमाडौँ– झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान छिन् । एकातिर घरमा फोहर फाल्ने ठाउँ छ्रैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ ।


ADVERTISEMENT


“फोहर लगेको भन्दै पैसा लिन भने प्रत्येक महीना ढोकामा घण्टी बज्छ तर समयमा नै फोहर व्यवस्थापन हुन नसक्दा दैनिक कामकाजमा नै समस्या भएको छ” गृहिणी फुयाँलले भनिन् । हुन त काठमाडौँ उपत्यकामा फोहर थुप्रिएको यो पहिलो पटक होइन । वर्षौदेखिको समस्या जनप्रतिनिधि निर्वाचित भएर आएपछि हल हुने स्थानीयवासीले आशा गरे पनि समस्या घट्नाको साटो बढ्दो छ । दुई साताभन्दा पहिलेदेखि काठमाडौँ उपत्यकाको फोहर उठ्न सकेको छैन ।


ADVERTISEMENT

# # #


अहिले सडकका मुख्य चोकचोकमा फोहरको डङ्गुर लागेको छ । कालीमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डङ्गुर देखिन्छ । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ ।

काठमाडौँ महानगरपालिकाबाट अहिले दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुन नसकेकाले सडकका दायाँबायाँ थुपारिएको फोहर माथिबाट यातायातका साधन र सर्वसाधारण आवतजावत गर्न बाध्य छन् ।

फोहरमैला व्यवस्थापन काठमाडौँ उपत्यकाको १८ वटै तहको समस्या भएकाले सामूहिक रुपमा समाधान खोज्न खाँचो रहेको कामपा, वातावरण महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए। उनले भने, “सबै मिलेर वैकल्पिक उपायको खोजी गर्नुपर्छ, महानगरपालिकाले मात्रै गरेर हुँदैन ” केन्द्र सरकारले पनि यसमा चासो देखाउने खाँचो देखिने बताइएको छ ।

यता ललितपुर महानगरपालिकामा पनि दिनदिनै फोहर बढिरहँदा स्थानीयवासी हैरान छन् । चोक र सडकमा थुप्रिएको फोहरले दुर्गन्ध फैलिएपछि केही दिन पहिले बालकुमारीस्थित खुला जग्गामा फोहर लगिएको लमपाले जनाएको छ । चोकको फोहर मात्रै उठाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “बालकुमारीमा सीमित खाली जग्गा मात्र हुँदा हामीले सडकमा रहेको फोहर भने उठाउन सकेका छैनौंँ ।” ओखरपौवामा फोहर लगिनासाथ समस्या समाधान हुने लमपाले जनाएको छ ।

लमपाले आफ्नो क्षेत्र र छिमेकी नगरपालिकासँग फोहरमैला व्यवस्थापनको वैकल्पिक स्थानको खोजी गरेको थियो । ललितपुुरका धेरै ठाउँ हवाई मार्गमा पर्ने हुँदा ल्याण्डफिल साइटको सम्भावना नभएको प्रवक्ता महर्जनले बताए । “स्थानीयवासीलाई सजग गराएर फोहरको उत्पादन कम गर्न भने सकिन्छ”, महर्जनले भने, “कुहिने र नकुहिने फोहर अब स्रोतबाट नै छुट्याउन आवश्यक रहेको छ ।”

झण्डै १३ वर्षदेखि काठमाडौंँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा अन्तिम व्यवस्थापन हुँदै आएको छ । दुई वर्षका लागि भनिए पनि वर्षौँ वर्षसम्म फोहर फालिँदा त्यस स्थानमा थप फोहर फाल्ने अवस्था छैन ।

एक महीनाअघि मात्र ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको थियो । समितिले एक महीना बितिसक्दासम्म पनि समाधानका लागि कुनै उपाय दिनसकेको छैन । मरहठ्ठा आफैंँ कामपाबाट सरुवा भएर अन्यत्र गइसकेका छन् ।

सिसडोलभन्दा दुई किलोमिटर पर दीर्घकालीन ल्याण्डफिल साइट निर्माणका लागि कामपाले बञ्चरे डाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । त्यसमा थप काम भने हुन सकेको छैन । हरेक वर्ष वर्षामा काठमाडौँवासीले फोहरको समस्या बढी भोग्दै आएका छन् । कामपाले वर्षाका कारण बाटो बिग्रिएकाले समस्या भएको जनाउँदै आएको छ ।

हरेक दिन निजी र स्थानीय तहका गरी दुई सय गाडी जानुपर्ने भए पनि हाल ५० गाडी मात्र फोहर बोकेर सिसडोल पुग्ने गरेका छन् । कामपाले फोहर व्यवस्थापनका लागि स्थानको छनोट केन्द्र सरकारले गर्नुपर्नेमा जोड दिँदै आएको छ भने केन्द्र्र्र सरकारले स्थानीय समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै आएको छ ।

सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या आएकाले सिसडोलका बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गर्दै आएका छन् । अहिले सिसडोलमा थुपारिएको फोहर माटाले पुर्ने र नयाँ फोहरको व्यवस्थापन गरिँदै आएकाले फोहरको पहाड नै बनिसकेको छ । शर्मिला पाठक र सञ्चिता घिमिरे/रासस