काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएसँगै डलरको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा मासिक ८० करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमको घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो ।


ADVERTISEMENT


निगमलाई ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको छ । यसअघि २ सय ८० रुपैयाँ घाटा थियो । लगातार मूल्य बढ्दै गएपछि निगमले सबैभन्दा धेरै घाटा ग्यासमा बेहोर्नु परेको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ५१ रुपैयाँ बढेर आएको छ ।


ADVERTISEMENT

# # #


निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको बताए । प्रतिसिलिन्डरमा ३ सय ३१ रुपैयाँ घाटा भएकाले ग्यासमा मासिक घाटा बढेर ८० करोड रुपैयाँ पुगेको उनको भनाइ छ । – आजको कारोबार दैनिकबाट