काठमाडौँ– युएई र हङकङ मलेसियामा जारी एसीसी एशिया कप छनोट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । यूएईले ओमान र हङकङले नेपाललाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


आज भएका खेलमा युएईले ओमानलाई १४ रनले पराजित गरेको थियो । यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । २०९ रनको विजयी लक्ष्य पच्छ्याएको ओमानले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रनमात्रै बनाएपछि यूएई १४ रनले विजयी भएको हो ।


ADVERTISEMENT

# # #


यता हङकङले नेपाललाई तीन विकेटले पराजित गर्दै एशिया कप छनोटको फाइनल प्रवेश गर्यो । सदाझैँ नेपालले आज पनि ब्याटिङ चल्न नसक्दा हार ब्यहोर्यो । टस जितेर ब्याटिङ थालेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९५ रन बनायो । ९६ रनको लक्ष्य पाएको हङकङका लागि पनि जित सहज भने हुन सकेन । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै २७ रन खर्चिएर ५ विकेट लिएपछि जितका लागि हङकङलाई लगभग अन्तिमसम्मै कुर्नुपर्यो ।

पाँच खेलमा चारमा जित हात पारेको युएई ८ अंकका साथ समूह विजेता बन्दै प्रतियोगिताको फाइनल प्रवेश गर्यो । यस्तै ५ खेलमा ओमानसंग समान ७ अंक भएको हङकङ नेट रनरेटका आधारमा फाइनल प्रवेश गर्यो ।

फाइनल खेल बिहीबार हुनेछ । जित्ने टोलीलले युएईमा हुने एशिया कप छनोटमा सहभागी हुन पाउने छ । जहाँ एशियाका पाँच टेष्टराष्ट्रहरु सहभागिता जनाउँदैछन् । यस छनोटको विजेता टोलिले समूह एमा रहेका पकिस्तान र भारतसंग खेल्न पाउने छन् ।