एजेन्सी– सर्प देख्दा डर लाग्छ ? धेरैको उत्तर आउन सक्छ, ‘पक्कै लाग्छ ।’
तर अष्ट्रेलियाकी ८१ वर्षे हजुरआमा फाय मोर्गनले आइतबार बिहान आफ्नो क्विन्सल्याण्डस्थित घरमा भएको बार्बक्यूमा लुकेको एउटा होइन, दुईवटा अजिंगरलाई हातले निकालेकी छिन् ।
अजिंगर देख्दा कसको मुटु र हात नकाँप्ला ? तर मोर्गनले भने निकै ‘कूल’ भएर दुईवटा अजिंगरलाई प्लाष्टिकको भाँडोमा राखेकी छिन् ।
कुरियर मेल डट कम डट एयुसँगको कुराकानीमा उनले भनिन्, ‘मलाई त्यति डर लागेन । ती त्यति ठूला पनि थिएनन् तर बिरालो खानसक्ने आकारका भने थिए ।’
उनको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि उनलाई ‘सुपर नाना’ भनेर सम्बोधन गरिएको छ ।
https://www.facebook.com/7NewsBrisbane/videos/241266226582435/
यसबारे उनी भन्छिन्, ‘खासै भन्नुपर्दा यो कुनै ठूलो कुरा होइन । यद्यपी, मैले पहिलो पटक दुई अजिंगरलाई एकैपटक देखेको थिएँ त्यसकारण यी दुईलाई निकाल्नका लागि केही ट्रिक अपनाउनु पर्दथ्यो । हामीले त्यहाँ एउटा मात्र होला भन्ने सोचेका थियौं तर त्यसको मुनी अर्को पनि रहेछ ।’
सेभेन न्यूजका अनुसार मोर्गनले आफ्नो धेरैजसो समय खेतबारीमा बिताएका कारण अजिंगरसँग डर नलागेको हो । उनले त्यही ठाउँबाट १८ महिना अघि पनि एउटा अजिंगर निकालेको बताइएको छ ।