काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरूको बैठक मंगलबार बिहान काठमाडौंमा बस्ने भएको छ । चौथो शिखर सम्मेलनको तयारीका लागि सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयले बिम्स्टेक राष्ट्रका विदेश सचिव काठमाडौं आइपुगेको र आज सचिवस्तरीय १९ औं बैठक हुने जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


सचिवस्तरीय बैठकमा शिखर सम्मेलनका विषय, सिफारिस गर्ने विषयगत क्षेत्र र यसअघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा समेत छलफल र परामर्श हुनेछ ।

सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्ररविदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्षरसरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुनेछ ।

बिम्स्टेकमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्स्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ ।

बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बंगलादेश, भारत, म्यान्मार, श्रीलंका थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् ।

बिम्स्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् । रासस