कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् ।
नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ । पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन । हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा छ, कक्षा चारमा पाँच र कक्षा पाँचमा ६ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीमध्ये पनि कम मात्रै विद्यालय आउने गरेको प्रधानाध्यापक अमरराज उपाध्ययले बताएका छन्।
विद्यालयको पहुँच क्षेत्र कम, नीजि विद्यालयको चाप बढ्नु तथा अन्य सामुदायिक विद्यालय नजिक हुँदा विद्यार्थी अभाव भएको उनको भनाइ छ । “विद्यार्थी थप्न अभिभावकको घरदैलोमै पुग्ने गरेका छौँ, अधिकांशले नीजि विद्यालयमा बालबालिका भर्ना गर्ने गरेका छन्” उनले भने । विद्यालयमा एक स्थायी, दुई राहत र दुई बालकक्षामा पढाउने शिक्षक कार्यरत छन् । विद्यार्थीको पढाइको स्तर निकै कमजोर रहेको पाइएको छ । “सबैलाई उत्तीर्ण गर्नुपर्ने नियम छ, पढाइको स्तर सोचेजस्तो छैन,” उनले भने ।
विद्यार्थी न्यून भएकाले नजिकको सामुदायिक विद्यालयमा समायोजनका लागि पहल भइरहेको छ । नगरपालिकाका वडाध्यक्ष लालबहादुर ऐरले पढाइको गुणस्तर कमजोर र न्यून विद्यार्थी भएकाले छिट्टै विद्यालय समायोजन गरिने बताएका छन् । वार्षिकरूपमा शिक्षकले तलबबापत रु १० लाख ९१ हजार, प्रशासनिक खर्च रु २० हजार, किताब खरिद गर्न रु १० हजार तथा छात्रवृत्तिबापत रु १२ हजार खर्च हुने गरेको छ । यहाँ ९५ प्रतिशत विद्यार्थी दलित समुदायका रहेका छन् । रासस