फागुन ३ । श्रीलङ्काका अधिकांश क्षेत्रमा लामो समयसम्म परेको खडेरी र अनिकालका कारण सात लाख नौ हजार जति मानिस प्रभावित भएको यहाँको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ ।
डीएमसीका अनुसार उत्तरी श्रीलङ्काका गाम्पाहा, मोनारगाला, कालुटारा र ट्रिङ्कोमालीलगायतका नगर अन्य क्षेत्रका तुलनामा अत्यधिक खडेरी र अनिकालग्रस्त भएका छन् ।


ADVERTISEMENT


लामो समयसम्म वर्षा नहुँदा कृषकहरु अत्यन्तै पीडित भएका र कतिपय ग्रामीण इलाकामा खानेपानी समेतको हाहाकार परेको छ ।


ADVERTISEMENT

# # #


यसअघि संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) को नियमित प्रतिवेदन (कन्ट्रि अपडेट) ले सन् २०१८ मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली नभित्रिएसम्म यस वर्ष श्रीलङ्कामा खाद्यान्नको हाहाकार मच्चिने तथा खाद्य तथा पोषण सुरक्षाको स्थिति नाजुक रहने भनी प्रतिवेदन प्रकाशन गरेको थियो ।

यस वर्षको मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली उत्पादन प्रायः शून्य हुने परिस्थिति देखिएकाले श्रीलङ्काले विगत चालिस वर्षपछि पहिलो पटक यसरी खडेरी र अनिकाल बेहोर्नु परेको जनाइन्छ ।

श्रीलङ्काको दैवी प्रकोप व्यवस्थापन मन्त्रालय र राष्ट्रिय नीति निर्माण तथा आर्थिक मामिला मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक स्रोत व्यवस्थापन विभागजस्ता ठूला सरकारी निकायहरुले क्यास फर वर्क र असिस्टेन्स फर एसेट क्रिएसनजस्ता विश्वव्यापी खाद्य सहयोग कार्यक्रमका लागि डब्ल्यूएफपीको मुख ताकी रहेका छन् ।

यसैबीच, श्रीलङ्काको मौसम तथा जलवायु विज्ञान विभागले मुलुकका केही खण्डमा यसै हप्ता केही वर्षा हुने मौसम भविष्यवाणी गरेको छ ।