काठमाडौं– हिन्दू धर्मका विभिन्न पर्वहरूका आध्यात्मिक र दार्शनिक महत्त्व छन् । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पनि आध्यात्मिक महत्व बोकेको पर्व हो । यसपालि नागपञ्चमी आज बिहीवार परेको छ ।


ADVERTISEMENT


सनातन धर्ममा मोक्ष प्राप्तिका लागि नागलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ । भगवान् विष्णु शेषनागमा शयन गर्नुहुन्छ । शिवजीको गलामा नाग हुन्छ ।


ADVERTISEMENT

# # #


समुद्र मन्थनका लागि नाग वासुकिलाई डोरी बनाइएको थियो । आदिम परम्परामा सर्पलाई माताका रूपमा मनसा देवीको पूजा गरिँदै आएको छ । सामाजिक रूपमा यही कारणले गर्दा नाग वा सर्पको पूजा शुरू भयो ।

सनातन धर्मका परम्परामा राजयोग अर्थात् कुण्डलिनी जागरणमार्फत मोक्षप्राप्तिको चर्चा आउँछ । मनुष्य शरीरमा ऊर्जा प्रवाह ७२ हजार नाडीमार्फत हुन्छ । तिनमा पनि इडा, पिंगला र सुषुम्ना नाडी बढी महत्त्वपूर्ण छन् । इडा र पिंगला हाम्रो मेरुदण्डका हाडका बायाँ र दायाँमा छन् । सुषुम्ना नाडी मेरुदण्डको बीच बाटो हुँदै हाम्रो मस्तिष्कमा पुग्छ ।

इडा र पिंगलाबाट हुने ऊर्जा प्रवाहलाई रोकेर त्यो बाटोको साटो सुषुम्ना नाडी भएर जाने क्रियालाई नै कुण्डसलनी जागरण भनिन्छ । यो हाम्रो मूलाधार चक्रलाई जागृत गराएमा मात्र सम्भव छ । मूलाधार चक्रलाई चेतनारूपी सर्प मानिएको छ जुन तीन फन्का गुँडुल्किएर सुप्त अवस्थामा बसेको छ ।

चेतनारूपी सर्पले मूलाधार चक्रबाहेक पाँच अन्य चक्र स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञा चक्रलाई छेडेपछि मानस शक्ति अर्थात् मनसा देवी हाम्रो सहस्रार चक्रलाई छेड्न सहज हुन्छ । त्यसपछि कुण्डलिनीको सर्पले अमृत पान गर्छ । सह्रसार चक्र अर्थात् ब्रह्म ज्ञानको चक्र मानस शक्ति जागृत भएपछि नै जाग्छ । यही आध्यात्मिकतालाई नाग पञ्चमीले प्रतीकात्मक रूपमा मनाइन्छ ।

नाग सुप्त चेतनाको प्रतीक हो । मानस शक्ति मनसा देवीको प्रतीक हो र पञ्चमी तिथि मूलाधार चक्र र सहस्रार चक्रलाई छोडेर शेष पाँच चक्रको प्रतीक हो ।

नागलाई दूध पियाउनु कुण्डलिनीको नागले अमृत पान गर्नुको प्रतीक हो । ज्योतिषीय दृष्टिबाट पनि पञ्चम भावलाई मन्त्र र आध्यात्मिक जागरणको भाव मानिन्छ । नागपञ्चमीलाई जागरणको पर्वका रूपमा लिनुपर्छ ।

श्रीश्वेतवाराहकल्पको एक कथा अनुसार, सृष्टिको प्रारम्भमा ब्रह्माजी अत्यन्त क्रोधित अनि फेरि भावुक हुनुभयो । त्यसले गर्दा उहाँको आँखाबाट आँसुको धारा निस्कियो । ब्रह्माजीका यी आँसु पृथ्वीमा खस्दा माटोमा मिसिएर तिनको मेलबाट नाग उत्पन्न भए । ती नागमा वासुकि, तषक, अनन्त, कर्कोटक, पद्म, महापद्म र शंखपाल प्रमुख छन् ।

आफ्नो आँसुबाट निस्किएका हुनाले ब्रह्माजीले नागलाई आफ्नो पुत्र मान्नुभयो र देवतासमान शक्ति दिनुभयो । अनन्तनागलाई सूर्यसमान, वासुकिलाई चन्द्रमासमान, तक्षकलाई मंगल, कर्कोटकलाई बुध, पद्मलाई बृहस्पति,
महापद्मलाई शुक्र र कुलिक तथा शंखपाललाई शनिसमान शक्तिशाली बनाउनुभयो ।

धार्मिक मान्यताअनुसार, यी सबै नाग सृष्टि सञ्चालनमा ग्रहजत्तिकै भूमिका निर्वाह गर्छन् । यी नागबाट देवतागण पनि सेवा लिन्छन् । भगवान् गणेश नागलाई यज्ञोपवीत बनाउनुहुन्छ, भगवान् शिव नागलाई गहना बनाउनुहुन्छ ।

भगवान् विष्णु नागशय्यामा शयन गर्नुहुन्छ ।