काठमाडौं – २७ दिन आमरण अनशन बसेर सरकारसँग सम्झौता गरेका डा. गोविन्द केसीले सरकारले तोकिएको समयमा माग पूरा नभए पुनः अनशन बस्ने बताएका छन् । अनशन तोडेपछि उपचार गरी आज डिस्चार्ज भएका केसीले पत्रकार सम्मेलन गरेर सरकारले सम्झौता कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । कुनै बहाना वा ढिलाइ नगरी शीघ्र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनेमा आफू विश्वस्त भएको केसीले बताएका छन् ।


ADVERTISEMENT


सम्झौतालाई मन्त्रिपरिषद्बाट अनुमोदन गराउनुपर्नेमा १३ दिन भइसक्दा पनि नगराएकाले तत्काल सो काम पूरा गर्न केसीले स्मरण गराएका छन् । पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्रीले अब अनशन बस्नु पर्दैन भनेको स्मरण गर्दै त्यो वातावरण बनाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता कार्यान्वयनका लागि सरकारलाई आफूले १५ दिनको समय दिएको उनले बताए । सरकारले छलछाम गरे कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि डा. केसीले दिएका छन् ।

आफ्नो अनशनका क्रममा बिरामीलाई पर्न गएको असुविधाप्रति केसीले माफी पनि मागेका छन् । २७ दिनको अनशन र त्यसपछि पनि उपचारका क्रममा धेरै दिन बिरामीको सेवा गर्न नपाएको भन्दै केसी भावुक भए । “यो अनसन मेरा निम्ति बाध्यता थियो । यस अवधिभर बिरामीको सेवा गर्न नपाएकोमा क्षमा चाहन्छु,” उनले भने ।