काठमाडौँ, फागुन ४ । फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता थियो ।


ADVERTISEMENT

# # #


छलफलमा प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारकातर्फबाट सहयोग गरिने प्रतिबद्धता जव्यक्त गरे । “स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण बन्छ, यसैले असहमतिलाई अन्त्य गरी निर्वाचन गरिनुपर्छ”–उनले भने ।

काँग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर निर्वाचनको प्रक्रिया सुरु गरिने बताए । त्यस्तै एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिए ।

छलफलमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले फागुन १४ मा स्ववियु निर्वाचन गराउने वातावरण बनाइदिन शीर्ष नेतासँग सहयोग माग गरेका थिए ।