काठमाडौ– पटकपटक न्यायको माग गर्दै अनसन बसेकी गङ्गामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेको आरोप लागेका रुद्र आचार्यलाई नेपाल झिकाइने भएको छ ।


ADVERTISEMENT


रेड कर्नर नोटिस जारी गरिएका आचार्यलार्इ नेपाल झिकाउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको छ । बेलायतले मागेको आचार्यलार्इ नेपाल पठाउन आवश्यक पर्ने जवाफी पत्र र अनुरोधको व्यहोरासहितको पत्र गृह मन्त्रालयले परराष्ट्रलार्इ पठाएको हो । परराष्ट्रले आवश्यक पक्रिया पूरा गरी बेलायत पठाउने तयारी गरिरहेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


आयरल्यान्डमा लुकेर बसिरहेको भनिएका आचार्यविरुद्ध नेपालले रेड कर्नर नोटिस जारी गरे पनि उनको प्रक्राउ प्रक्रिया अघि बढ्न सकेको थिएन । बेलायतले उनको विस्तृत विवरण र नेपाल पठाएपछि उनको सुरक्षा हुनुपर्ने जवाफी पत्र दुई वर्षअघि नै मागेको तर यताबाट हालसम्म नपठाइएको बताइन्छ ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीलाई मामाघर चितवन गएको बेला २०६१ सालमा हत्या गरिएको थियो । छोराको हत्यारालाई कारबाही हुनुपर्छ भन्दै उनी न्यायको खोजीमा विगत ७ वर्षदेखि अनसन बस्दै आएकी छिन् । सोही न्यायको माग गर्दै अनसन बस्ने क्रममा कृष्णप्रसादका बाबु नन्दप्रसाद अधिकारीको २०७१ सालमा मृत्यु भएको थियो ।