मोरङ– मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ ।
सो अभियानअन्तर्गत लायन्स क्लब अफ लेटाङकी अध्यक्ष शान्ति लामा पाख्रिनको नेतृत्वमा लायन्स क्लब अफ पथरी, पथरी वाणिज्य संघसमेतको सहकार्यमा घरमा बनाइएको सेलरोटी दिएर बिहीबार पथरी बजारमा सहयोग रकम संकलन गरिएको हो । सेलरोटी र एक बोतल पानी दिँदै इच्छाअनुसारको सहयोग माग्ने क्रममा पथरी बजारबाट रु ७१ हजार ८८५ संकलन भएको थियो ।
उक्त रकममा नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिले सहयोगी टोलीलाई कार्यालयमै बोलाएर सहयोग रकम प्रदान गरेका थिए ।
‘लेटाङ प्रिन्सेस’– २०१८ की बिजेता सुजता खतिवडा, फष्ट रनरअप जानुका मगरसमेत सो अभियानमा सहभागी भई गत सोमबार बेलबारी बजारमा रु ६१ हजार २११ रकम संकलन गरेका थिए । विपन्न परिवारकी बालिकाको भरतपुर अस्पतालमा किमोथेरापी शुरु गरिएको छ । विदेशबाट पनि सहयोग प्राप्त हुँदै गरेको अभियानकी संयोजक शान्ति लामा पाख्रिनले बताईन् । रासस