एजेन्सी– अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत आर्सनलले चेल्सीलाई पराजित गरेको छ । डब्लिनमा भएको खेलमा आर्सनलले चेल्सीलाई टाइब्रेकरमा ६–५ ले हराएको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा भएको थियो ।


ADVERTISEMENT


चेल्सीका लागि डिफेन्डर एन्टोनियो रुडिगरले खेलको पाँचौं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । खेलको १५ औं मिनेटमा आर्सनलका हेक्टर बेल्लेरिनको फाउलमा चेल्सीले पेनाल्टी पनि पाएको थियो । तर सो पेनाल्टीमा एल्भारो मोराटाको प्रहार पिटर चेकले बचाए ।


ADVERTISEMENT

# # #


दोस्रो हाफको इन्जुरी समयमा आर्सनल खेलमा फर्केको हो । रिस नेल्सनको पासमा एलेक्जान्डर लाकाजेटले गोल गर्दै खेललाई अन्तिम समयमा पेनाल्टीतर्फ मोडेका थिए ।

आर्सनल र चेल्सीका पहिला ५–५ खेलाडी सबैले आफ्नो पेनाल्टी परिणत गरे । आर्सनलका लागि लाकाजेट, माटियो गुन्डोजी, एन्स्ली मेटलेन्ड–नाइल्स, मेसुट ओजिल र रिस नेल्सनले आफ्नो पेनाल्टी परिणत गरे भने चेल्सीका ड्यानी ड्रिंकवाटर, ट्यामी अब्राहम, भिक्टर मोजेज, एमेर्सन र लुकास पियाजोन चुकेनन् ।

त्यसपछि खेल सडन–डेथमा पुगेको थियो । चेल्सीका रुबेन लफ्टस–चिकको पेनाल्टी चेकले रोकेपछि आर्सनलका एलेक्स इवोबिले आफ्नो प्रहार परिणत गर्दै आर्सनललाई जित दिलाए ।