काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता नारायणकाजी श्रेष्ठले साउन ६ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर सत्याग्रहमा रहेका चिकित्सक डा. गोविन्द केसीसँग भेटवार्ता गरे । त्यसलगत्तै डा. केसी समर्थक केहीलाई आफ्नै निवासमा बोलाएर केसीका माग कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गरे ।


ADVERTISEMENT


नेता श्रेष्ठ यसअघिका सत्याग्रहमा पनि डा. केसीकै पक्षमा उभिएका नेतामध्ये एक हुन् । तर उक्त भेटवार्ताले भने ने क पा भित्र तरंग ल्याइदिएको छ ।


ADVERTISEMENT

# # #


ने क पा का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेता श्रेष्ठले डा. केसीलाई भेटेको केहीदिनभित्रै डा. केसीका माग पूरा गर्ने सम्झौता गरे पनि श्रेष्ठले भने उक्त भेटपछि पदबाट राजीनामा दिनुपरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रहमा रहेका डा. गोविन्द केसी, उनको अभियानमा सहभागी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेस नेताहरुलाई भेटेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेता श्रेष्ठलाई बैठकमै हप्काएपछि पार्टीको प्रवक्ताबाट नेता श्रेष्ठले राजीनामा दिएका हुन् ।

श्रेष्ठ ने क पा को एकताका सुत्रधारसमेत हुन् । श्रेष्ठलाई पार्टीमा छलफल नगरी डा. केसी, सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेस नेताहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको भन्दै अध्यक्षद्वयले हप्काएका थिए ।

तर ने क पा का महासचिव विष्णु पौडेल र संसदीय दलका उप नेता सुवास नेम्वाङले नै डा. केसीलाई जुस खुवाएर सत्याग्रह तोडाएका हुन् ।

“गत साउन ६ गते पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ डा। गोविन्द केसीको माग पूरा गर्नुपर्र्ने भन्दै भेट्न जानु भएको थियो । श्रेष्ठले केसीलाई भेटेको दोस्रो दिन नेकपाका नेताहरु बाुलवाटारमा केसीको मागको बारेमा छलफल गर्न जम्मा हुनुभएको थियो । त्यहाँ नै प्रचण्ड र ओलीले हामीलाई नसोधी डा। केसी, सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेसका नेतालाई भेट्न किन गएको ? भन्दै हप्काउनुभएको थियो । दुई अध्यक्षको कुरा सुनेपछि नारायणकाजी श्रेष्ठले पनि त्यसो भए तपाईँहरुको प्रवक्ता तपाईँहरु नै खानुहोस् भनेर बैठक छाडेर हिँड्नुभएको हो,” ने क पा उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार त्यहीदिन बेलुका अर्थात साउन ७ गते नै श्रेष्ठले राजीनामा दिएका थिए । श्रेष्ठको राजीनामा भने स्वीकृत भएको छैन । पार्टीका नेताहरुले अहिलेसम्म यो विषय गोप्य राखेका थिए ।

“डा। केसीको माग पूरा गर्र्नुपर्छ, यो राष्ट्रिय एजेन्डा हो भन्दा ओली र प्रचण्डले (अ) वस्तुवादी, अलोकतान्त्रिक र अराजनीतिक माग भनेर भन्नुभयो,” श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, “कसैलाई हात मिलाउन पनि ओली र प्रचण्डसँग सोध्नुपर्ने भएपछि प्रवक्ता पद किन चाहियो ? भनेर राजीनामा दिएँ । मान्छे स्वतन्त्र हुन चाहन्छ कसैको दबाबमा बस्न चाहँदैन । कम्युनिष्ट पार्टीको सिद्धान्त पनि त्यो होइन । अब म राजीनामा फिर्ता लिने सोचमा छैन । केसी र सरकारबीचको ८ गतेको वार्ता मेरै पहलमा भएको थियो ।”

प्रवक्ता श्रेष्ठले राजीनामा दिएको पुष्टि गरे । उनले भने, “म अहिले पनि पार्टीको काममा सक्रिय छु । तर प्रवक्ताबाट राजीनामा दिएको हुँ । तर मेरा बारेमा अनावश्यक हल्ला फैलाइएको छ । म राजीनामा फिर्ता लिने मुडमा छैन ।”

“कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने मेरो एक सुत्रीय भनाइ हो । मलाई कस्तो भूमिका दिइयो भन्ने कुरा पार्टीले नै मुल्याङ्कन गर्ला । पार्टीको सचिवालय सदस्यको रुपमा रहेर अब काम गर्छु,” नेता श्रेष्ठको भनाइ छ ।

ने क पाका एक नेताका अनुसार नेता विष्णु पौडेललाई महासचिव बनाइएपछि केही नेता अझैसम्म पनि असन्तुष्ट छन् ।