खेलकुदमा छलाङ नेपालका लागि कल्पनामा नै सिमित भईरहेको छ । के यस्लाई यथार्थ बनाउने सुत्र नै छैन त रु सरकारले भर्खरै भलिबललाई राष्ट्रिय खेलका  रुपमा घोषणा गरेको छ । सबै खेलहरुको विकासका लागि के आवश्यक छ ? सन् २०१९ मा हुने भनिएको १३ औ साग खेलकुद प्रतियोतिताको तयारी कस्तो छ ? खेलमा आम बिकासका सुत्रहरु लगायत सम्पूर्ण खेलकुद गतिविधिका विषयमा राष्ट्रिय खेलकुद परिषद्का  उपाध्यक्ष टेन्डी शेर्पासंग गरिएको कुराकानी  :-


ADVERTISEMENT


पछिल्लो समय कत्तिको व्यस्तता बढिरहेको छ ?


ADVERTISEMENT

# # #


अहिले चुनावी सरगर्मी भएकाले व्यक्तिगत रुपमा चुनावमा पनि व्यस्त छु । तर लाखौँ नेपाली खेलाडीको छाता संगठन राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष भएकाले खेलकुदमा मैले समय बिताइरहेको छु । सरकारले नेपाली खेलकुदमा पहिलेका वर्षभन्दा यस वर्ष घटाएर बेजेट ल्याएको छ । समग्र युवाहरुलाई केन्द्र बनाएर बजेट आउने आशा र अपेक्षा हामीले जुन गरेका थियौँ, त्यो ढंग अनुसार बजेट आएन । यो वास्तवमा दुर्भाग्यपूर्ण कुरा हो । र हाम्रो व्यस्तता भनेको १८ र १९ वर्षपछि नेपालमा हुन गइरहेको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)  प्रतियोगिताको तयारी तिर छ । १३ औँ साग सन् २०१९ मा नेपालले गर्ने निर्णय भएको छ । यती ठूलो प्रतियोगिता निजिकिँदै गर्दा पनि सरकार यो कुरामा मौन बसेको देख्दा मलाई आश्चर्य लागेको छ । तर सरकारलाई दबाब दिएर भएपनि १३ औँ साग सफलता पूर्वक सम्पन्न गर्ने कुरामा हामी लागिरहेका छौँ ।

नेपाली खेलकुद क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?

१३ औँ  साग नजिकिदै गर्दापनि सरकारको ध्यान खेलकुद तिर छैन । अझ यस वर्ष खेलकुदमा बजेट पनि कम आएको छ । खेल्नका लागि पूर्वाधारको अभाव विगत देखि नै रही आएको छ । नेपालमा फुटबलका लागि अन्तराष्ट्रिय स्तरको मानिएको दशरथ रंगशालाको अवस्था पनि हामीलाई थाहा छँदैछ । त्यहाँ गएर खेल्ने अवस्था छैन । क्रिकेटमा पनि भद्रगोल नै छ ।

अझ भन्नुपर्दा सम्पूर्ण खेलकुदको प्रशिक्षणका लागि एउटै गतिलो प्रशिक्षण केन्द्र छैन । नेपालका सन्दर्भमा बास्केटबलको कुरा गरौँ । सिमेन्टका पीचमा खेलेर हामीले बाहिर काठको पिचमा खेल्नु पर्छ । त्यसको स्वरुप नै फरक हुन्छ । घाँस भएको हिलोमा फुटबलको तयारी गरेर विभिन्न राष्ट्रसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । घुँडासम्म आउने धुलोमा भलिबल खेलेर तयारी गर्नु पर्छ । प्रतिस्पर्धाका लागि बाहिर जाँदा त्यहाँको व्यबस्था बिल्कुल फरक हुन्छ । खेलाडीलाई खेल्नका लागि असहज महसुस हुन्छ जसको प्रभाव परिणाममा देखिन्छ ।

तर पनि नेपाली खेलकुदमा हिजोभन्दा आकर्षण बढेको छ । यो सुखदः कुरा हो । आजपनि खेलाडीले म खेलेर आफ्नो भविष्य बनाउँछु भन्ने अवस्था छ । त्यो हामीले निर्माण गरेका छौँ ।

तपाईले बास्केट बलका लागि विभिन्न ठाउँहरुबाट प्रतिभाहरु ल्याउन खोजिरहनु भएको छ । यसका लागि ट्यालेन्ट हन्ट पनि गर्ने सुनिएको छ । यसको बारेमा बताइदिनुहोस न ।

म नेपाल बास्केट बलको अध्यक्ष भएको करिब १० वर्ष नाघ्यो । म अध्यक्ष हुनुभन्दा पहिले नेपालमा बास्केटबल छ कि छैन भन्ने अवस्था थियो । म अध्यक्ष भएपछि अन्तराष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने तथा प्रतियोगितामा सहभागी हुने काम सुरु भयो । म आइसकेपछि आजसम्म कुनै पनि बास्केटबलको कुनै पनि आयोजना छुटेको छैन । एउटा रोचक कुरा म तपाई मार्फत भन्न चाहन्छु । आजभन्दा चार वर्ष अघि बास्केटबलमा नेपालले वल्र्डकपमा समेत भाग लिएको छ ।
दक्षिण एसियामा हेर्ने हो भने महिलामा दोस्रो शक्ति केन्द्र हामी हौँ र पुरुषमा पनि दोस्रो शक्तिका रुपमा उदाउँदै छौँ । सानै उमेरदेखि नै यसको विकास गर्नुपर्छ भनेर हामीले मुलुकमा रहेका बास्केटबलमा अनुकुल हुने प्रतिभाशाली खेलाडीहरुलाई उसले बास्केट बल खेलिसकेपछि पढ्न र बस्न निःशुल्क पाउनु पर्छ र उसलाई ट्रेनिङ हामी गराउँछौँ भन्ने हिसाबले विभिन्न निजी संस्थासंग सहकार्य गरेर ‘ट्यालेन्ट हन्ट’ गर्दैछौँ । कम्तीमा तीन महिनाको अवधिमा ‘ट्यालेन्ट हन्ट’ गरेर भविष्यमा राष्ट्रिय स्तरको खेलाडी बनाउने प्रयासमा हामी छौँ ।

देश संघीयतामा गएको छ । खेलकुदको विकास तथा विस्तारका लागि प्रत्येक स्थानीय तहमा के कस्ता पूर्वाधार निमार्ण गर्न आवश्यक छ ? देशैभरी छरिएर रहेका नयाँ प्रतिभाहरुलाई छनोट गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पर्याउन के कस्तो व्यवस्था गर्नुपर्छ ?

देश संघीय संरचनामा त गयो तर कार्यान्वयन गर्न त अझै केही समय लाग्छ । तपाइलाई थाहा छँदैछ, अहिले हाम्रो खेलकुदमा पाँच विकास क्षेत्र छ । संघीयता कार्यान्वयन भएपछि अब सात वटा प्रदेश हुने भयो । राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट हामीले विभिन्न राजनीतिक दलहरुलाई पनि भनेका थियौँ । प्रत्येक प्रदेशमा खेलकुद राजधानी बनाउनु पर्छ । त्यहाँ प्रदेश सरकारले यथेस्ट लगानी गर्नुपर्छ । महानगरपालिकाको आफ्नै स्वामित्वमा कम्तिमा प्रत्येक महानगरमा पचास हजार क्षमता भएको एउटा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउनु पर्छ । प्रत्येक वडामा एउटा इन्डोर हल बन्नुपर्छ । जहाँ सिधै जनताको पहुँच होस् । प्रतिभा छान्ने काम पनि त्यसबाट नै हुन्छ । पूर्वाधार बिना खेलकुदको विकास सम्भव छैन । पूर्वाधार बनाउँदा अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिनु पर्छ । र एउटा प्रमुख कुरा  खेलकुद क्षेत्रका पदाधिकारी राजनीतिक हिसाबले नियुक्ति गर्न बन्द गर्नुपर्छ । योग्य र सक्षम व्यक्ति खुल्ला  प्रतिस्पर्धाका माध्यामबाट छनोट गरिनु पर्छ । तबमात्र खेलकुद क्षेत्रको विकास तथा  विस्तार गर्न सकिन्छ ।

अन्त्यमा, भर्खरै सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको हैसियतले यसको सम्भावना, प्रर्वद्धन र भविष्य कस्तो देख्नुहुन्छ ?

यसमा व्यक्तिगत तर्फबाट बोल्दा मेरो भिन्न मत छ । त्यो बोलाई विवादित होला । तर के छ भन्दा विश्वका धेरै देशहरुमा राष्ट्रिय खेल घोषणा भएको छैन । किनकी एउटालाई राष्ट्रिय खेल घोषणा गर्दा अर्कोलाई असर पर्छ भन्ने हुन्छ । एउटा खेललाई महत्व दिएर अर्कोलाई ध्यान नदिएको भन्ने खालको कुरा आउँछ र अर्को खेलमा सम्वद्ध व्यक्तिहरुमा निराशा उत्पन्न हुन्छ ।

तपाईलाई म एउटा उदाहरण दिन चाहन्छु, ब्राजिलमै फुटबल राष्ट्रिय खेल होइन ।  इन्डियामै क्रिकेट राष्ट्रिय खेल होइन । पाकिस्तानमै हक्की राष्ट्रिय खेल होइन । तर हाम्रो देशमा भर्खरै राष्ट्रिय खेल घोषणा गरिएको भलिवलको बारेमा सकारात्मक रुपमा भन्दा यो एउटै खेल हो कि जुन सबै स्थानीय स्तरमा खेलिन्छ ।  किनकी यसका लागि पूर्वाधार चाहिँदैन । बीचमा एउटा डोरी राखिदिएमा पनि खेल्न सकिन्छ । सबै स्तरमा भलिबलको पहुँच आफै सिर्जना भएको छ । त्यो हिसाबले घोषणा गर्नु ठिकै हो ।

राष्ट्रिय खेल भइसकेपछि निश्चित रुपमा सरकारले पनि एउटा कार्ययोजना बनाएर काम गर्नुपर्छ । मेरो एउटै भनाई के हो भने सरकारले भलिबललाई मात्रै केन्द्रमा राखेर अरु खेललाई बिर्सिनु हुँदैन । अन्य खेलको सम्भावना पनि उत्तिकै छ । खेलकुदको एउटा प्रतिनिधि भएको हिसाबले सबै खेलको उत्तिकै महत्व हुन्छ र सबैलाई समान दृष्टिले हेरिनु पर्छ भन्ने मेरो मान्यता हो ।