काठमाडौँ–  सहमतीय सरकारको विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।


ADVERTISEMENT


कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नै संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई सहमतीय सरकारका विषयमा छलफल गर्न बैठक बोलाएका थिए।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपतिले सहमतीय सरकार बनाउन गत बिहिबार दलहरुलाई सात दिनको समय दिएकी थिइन्। सोही विषयमा छलफल गर्न देउवाले सबै दलका शीर्ष नेतालाई बैठकमा सहभागिताका लागि चिठी पठाएका थिए। तर मंगलबार बिहान बसेको सो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु भने अनुपस्थित छन्।

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुलाई झुक्किएर पत्र आएको ठानेर बैठकमा नगएको बताए। ‘कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्नका लागि भनेर पत्र पठाइएको रहेछ। यो पत्र कांग्रेसको नेतृत्वमा सरकारमा जान चाहनेका लागि मात्रै होला’, ढकालले भने, ‘हामीलाई झुक्किएर आएको होला भनेर हामी बैठकमा गएनौ। हामी त्यो बैठकमा जानुको केही औचित्य छैन। राष्ट्रपतिले सहमतिको सरकारका लागि आह्वान गर्नुभएको हो। कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि होइन।’

बैठकमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रियप प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य साना दलका शीर्ष नेताहरु सहभागी छन्। बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ। राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको समयसीमा बुधबार सकिने छ।