काठमाडौं– बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको झडपका क्रममा घाइते भएका प्रहरी जवानको अवस्था गम्भीर रहेको छ । उनलार्इ थप उपचारका लागि आज नेपाल शिक्षण अस्पतालबाट काठमाडौं ल्याउन लागिएको छ ।


ADVERTISEMENT


१५ औं पटक जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बलपूर्वक काठमाडौं ल्याउन खोज्दा प्रतिष्ठानका विद्यार्थी तथा केसी पक्षधर र प्रहरीबीच झडप भएको थियो । सो घटनामा केसी पक्षधरद्वारा प्रहार भएको शिशा छातीमा लागेर प्रहरी जवान कमल उपाध्याय गम्भिर घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


उनलार्इ उपचारका लागि बिहीबार नै नेपालगञ्ज शिक्षण अस्पतालमा राखिएको थियो । बिहीबार रातिदेखि आईसीयूमा राखेर उपचार गरिरहेको हुँदा उपाध्यायको स्वास्थ्यमा केही सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । थप उपचारका लागि हेलिकोप्टरमार्फत आज काठमाडौं पठाउन लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले जनाएका छन् ।

बिहीबार उनी घाइते भएलगत्तै जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ गर्दै उनको मृत्यु भएको भन्ने झुटो हल्ला फैलाएका थिए । उनले माइकिङमा भनेका थिए, ‘एकजना प्रहरी जवानले ज्यान गुमाइसकेका छन्, हाम्रो जवानको मृत्यु भएका कारण अब हामी पछि हट्नेवाला छैनौं, हाम्रो संयमता अब बाँकी छैन ।’ सो क्रममा उनले आन्दोनरत पक्षमाथि बल प्रयोग गर्ने धम्की दिएका थिए ।

लगत्तै जुम्लामा भएको उक्त झडपमा परी प्रहरी जवानको मृत्यु भएको समाचार सनसनी फैलियो । तर पछि जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरीले हेडक्वार्टर काठमाडौंले प्रहरी जवानको मृत्यु भएको खबर झुटो रहेको भन्दै खण्डन गरे ।

काठमाडौं आउन नमानिरहेका डा. केसीलार्इ भावनात्मक ब्लाकमेल गरेर प्रशासन पक्षले यसरी झुटो सूचना प्रवाह गरेको खुल्न आएको छ । प्रहरी प्रशासनकै यो गैरजिम्मेवारीपूर्ण हर्कतको जसको मिडियामा चर्को आलोचना पनि भइरहेको छ ।