पाल्पा– जिल्ला मकै उत्पादनमा आत्मनिर्भर बनेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दैनिक उपभोग गर्नेबाहेक यहाँ फलेको मकै बिउ खोटाङ, पर्वत, स्याङजा, लमजुङ, गोरखा, अर्घाखाँचीलगायत जिल्लामा पठाइने गरिएको छ ।
जिल्लाको लेकदेखि बेंसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ ।


ADVERTISEMENT


कार्यालयका अनुसार २१ हजार ५ सय ६४ हेक्टर जमिनमा हुने खेतीबाट उन्नत जातको बिउ ६५ टन उत्पादन भएको छ । जिल्लाभित्र झन्डै २० हजार टन खपत हुन्छ । मकै खेतीमा सिँचाइ, समयमै रोग किराको नियन्त्रण, असल मूल बिउ र आवश्यक मलको प्रबन्ध गर्न सके जिल्लामा कृषकले मकैबाट राम्रो आम्दानी लिन सक्ने कृषिले जनाएको छ । खोटाङ, पर्वत, स्याङजा, लमजुङ, गोरखा, अर्घाखाँचीलगायत जिल्लामा यहाँ उत्पादित बिउ बिक्री गरिन्छ ।


ADVERTISEMENT

# # #


जिल्लामा खपत हुन नसकेपछि ४५ टन मकै बिउ बाहिरी जिल्लामा पठाइएको छ । जसले कृषकलाई थप मकै बिउ उत्पादनमा उत्साह बढेको छ । गत वर्ष २१ टन मकै बिउ बाहिर जिल्लामा पठाउन सफल भएको थियो । जिल्लालाई आवश्यक खपत भइसकेपछि मात्रै मकै बिउ बाहिर पठाउने गरिएको जिल्ला कृषिले जनाएको छ । कृषि विकास कार्यालय, पहाडी मकैबाली अनुसन्धान परियोजना, राष्ट्रिय बिउबिजन कम्पनीको सक्रियताले मकैको बिउ जिल्लामा दुई वर्षयता उत्पादनमा वृद्धि भएसंँगै बाहिर जिल्लामा समेत बिक्री गर्न थालिएको छ ।

उन्नत जातको मकै बिउ उत्पादन गर्न सहकारी र समूह सक्रिय भएका छन् । बाहिर जिल्लामा बिक्री गर्न थालेपछि किसान उत्साहित भएका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले बताए । ‘मूल बिउ उत्पादनमा किसानसँग हामी पनि सहयोगी बनेका छौं,’ उनले भने ।
पोखराथोकस्थित तिलोत्तमा र शिवशक्ति, ठिमुरेको रिब्दीकोट, तानसेनको पीपलटारी, मदनपोखराको कलंकीदेवी कृषि सहकारी संस्थाले उन्नतजातको मकैको बिउ उत्पादन गर्दै आएका छन् । यस्तै कुखुमखोलाको जनहित, भैरवस्थानको भैरव महिला, चिर्तुङधाराको वरपीपल, खस्यौलीको राधाकृष्ण, चिदीपानीको मौलाथर मकै उत्पादक कृषक समूहले बिउ उत्पादन गर्छन् । ‘जिल्लामा समूह गठन गरेर सबै गाविसमा उन्नत जातको मकैको बिउ लगाउन थालेका छन्,’ अधिकृत श्रेष्ठले भने, ‘बिउ बिक्री हुन्छ भन्ने थाहा पाएपछि उत्पादनमा समेत तत्परता देखिएको छ ।’

जिल्लामा बढी मात्रामा मनकामना ३ मकै उत्पादन हुन्छ । यसबाहेक पोसिलो, देउती, अरुण २, रामपुर कम्पोजिट जस्ता उन्नत जातको बिउ उत्पादन हुँदै आएको छ । बिउ उत्पादक समन्वय समितिका अध्यक्ष लेखनाथ गैरेका अनुसार सरकारी तथा गैरसरकारी क्षेत्रबाट बिउ उत्पादनका साथै बजारीकरणमा सुनिश्चितताको सुरुवात भएकाले कृषकमा थप हौसला मिलेको बताए ।