काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेर सरकारले जनतालाई तर्साउन खोजेको बताएका छन् ।


ADVERTISEMENT


शक्तिशाली प्रधानमन्त्री सामान्य उपकुलपतिसँग तुजुक देखाउन उपयुक्त नहुने गिरीले सुझाव दिएका छन् ।


ADVERTISEMENT

# # #


संसदमा विशेष समय लिएर बोल्दै गिरीले अहिले प्रधानमन्त्रीले तागत नभई गरिमा देखाउने बेला भएको बताए । केपी शर्मा ओली दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्री भएको भन्दै गिरीले संसदमा भने, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो, कुलप्रसाद कोइरालाजस्तो साधारण नागरिकलाई ताकत–तुजुक देखाउने बेला होइन ।’

क्यानडाको एक सम्मेलन जान लागेका उपकुलपति कुलप्रसाद कोइरालालाई ‘प्रधानमन्त्रीले बोलाउनुभएको छ’ भन्दै प्रहरीले विमानस्थलबाट बालुवाटार पुर्‍याएको थियो । तर, विमान उड्ने समय सकिएपछि उनलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै फर्काइएको थियो ।

आफूलाई दुर्व्यवहार भएको भन्दै कोइरालाले मानवअधिकार आयोगमा उजुरीसमेत दिएका छन् । सांसद गिरीले यदि प्रधानमन्त्रीलाई थाहा नदिई उपकुलपतिलाई दुर्व्यवहार गरिएको भए माफी माग्नुपर्ने बताए ।

‘उहाँको अञ्जानमा यो घटना घट्न गएको छ भने कमसेकम सम्वन्धित व्यक्तिलाई फोन गरेर मलाई दुःख लागेको छ, अफसोच छ भन्नुपर्छ’ गिरीले संसदमा भने, ‘होइन भने हामीले बुझ्नुपर्छ, बुढी मरी भन्ने पीर होइन, बाघ पल्कियो भन्ने पीर हो ।’