काठमाडौँ– प्रभावकारी अनुसन्धान तथा अभियोजनको लागि प्रहरी र सरकारी वकिलहरुबीचको प्रदेश स्तरीय सम्मेलन अन्तर्गत प्रदेश नं. ३ मा सम्मेलन भएको छ । ‘विश्वासिलो र भरपर्दो फौजदारी न्याय प्रशासन, वस्तुगत प्रमाणमा आधारित अनुसन्धान र अभियोजन’ भन्ने नाराका साथ उक्त दुई दिने सम्मेलन काठमाडौँमा शुक्रबारदेखि सुरु भएको छ ।


ADVERTISEMENT


सरकारवादी फोजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुबीच सम्वन्वय र सहकार्य स्थापना गर्ने उद्देश्यले देशका सबै प्रदेशमा सो कार्यक्रमको आयोजना गरिएको नेपाल प्रहरीले बताएको छ । यसै योजना अन्तर्गत प्रदेश ३ मा प्रहरी अपराध अनुसन्धान विभाग र महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा आयोजित सो सम्मेलन गृहमन्त्री राम बहादुर थापाले उद्घाटन गरेर शुक्रबारदेखि सुरु भएको हो ।


ADVERTISEMENT

# # #


आगामी भदौँ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन लगायतका नयाँ फौजदारी कानुनको कार्यान्वयनको लागि तत्काल गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गरी कार्यान्वयन गर्न उक्त सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने प्रहरीले विश्वास लिएको छ ।

यस्तै सरकारवादी मुद्दाहरुको अनुसन्धानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल प्रहरीले लागू गरेको अपराध कार्य योजना (सीएपी) का साथै यसका रणनीति बमोजिम कार्य सम्पादन गर्नु र अभियोजन सम्बन्धमा देखिएका समस्यालाई पहिचान गरी समाधान गर्नु सम्मेलनको उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

सम्मेलनमा पहिलो दिन गृहमन्त्री रामबहादुर थापाका साथै आइजिपी सर्वेन्द्र खनाल, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, अपराध अनुसन्धान विभागका प्रमुख डीआईजी धीरु बस्न्यात लगायत सरकारी वकिल, नेपाल प्रहरी र चिकित्सकहरु सहभागी भएका थिए ।

सोही कार्यक्रम अन्तर्गत प्रहरीले यसअघि प्रदेश नं १ र २ मा असार १ र २ गते, प्रदेश ४ र ५ मा ८ र ९ गते तथा प्रदेश ६ र ७ मा असार १५ र १६ गते सम्मेलन गरिसकेको छ ।