रोल्पा– समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् ।


ADVERTISEMENT


सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ । हरेक वर्ष दुई÷तीन जनाका दरले नयाँ संक्रमित थपिँदै गएको रोल्पा प्लसका अध्यक्ष राधा विकले बताईन् । यस वर्षको माघ महिनामा मात्र तीन जना नयाँ संक्रमित थपिए विकले भनिन् ।


ADVERTISEMENT

# # #


हाल जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको रोल्पा प्लसले जनाएको छ । संक्रमितमध्ये १५ जना कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन् । जिल्लाभित्र रहेका ३४ जनामध्ये २० जना महिला छन् । आफूहरुको सम्पर्कमा आएकामध्ये ३२ जनाले नियमित औषधि सेवन गरे पनि दुई जना भने समाजको डरले औषधि सेवन गर्न मानेका छैनन् अध्यक्ष विकले भने ।

जिल्लामा संक्रमितमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको रोल्पा प्लसले जानकारी दिएको छ । उनले संक्रमितलाई परामर्श दिने तथा नियमित औषधि सेवनका लागि प्रोत्साहन गरेका कारण संक्रमित खुल्न थालेको बताएका छन् ।

बाबु आमाका कारण तीन बालबालिकासमेत एचआइभी संक्रमित भएका छन् भने ३२ बालबालिका प्रभावित भएको बताइएको छ । प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न संघ संस्थाले शैक्षिक सहयोग गरिरहेका छन् । रासस