काठमाडौं– नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज नेपाल आइपुगेको छ । ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजको नाम ‘अन्नपूर्ण’ राखिएको छ ।


ADVERTISEMENT


जहाज लिनका लागि नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली गत मंगलबार युरोप गएको थियो । महाप्रबन्धन कंसाकारसहितको टोली यही जहाजमा आएको थियो । जहाज फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं अवतरण गरेको हो ।


ADVERTISEMENT

# # #


कंस्कारसहित एकजना इन्जिनियर र एक कानुन विज्ञ फ्रान्स गएका थिए। जहाज ल्याउने प्रक्रियाका लागि नागरिक उड्ययन प्राधिकरणका तीनजना प्राविधिक त्यसअघि नै फ्रान्सको टुसुल सहरस्थित एयरबस कम्पनीमा पुगेका थिए ।

२०६५ देखिको प्रक्रिया
निगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो जहाज आइपुगेको हो । २०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो ।

निगमले योवाइडबडीको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा गर्ने घोषणा यसअघि नै गरिसकेको छ । एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ ।

यो वाइडबडी नेपालको आफ्नै सबैभन्दा ठूलो जहाज हो । २८० सिट क्षमताको यो वाइडबडी जहाजमा सिट एसेम्बल (जडान) गर्दा भने १८ वटा बिजनेस क्लास र २५६ इकोनोमी क्लास सिट राखिएको निगमले जनाएको छ । पहिलोवाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।

विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो ।

नेपाल वायु सेवा निगमले यी दुई वाइडबडी जहाज किन्न करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ । त्यसका लागि निगमले साढे १२ अर्ब रुपैयाँ कर्मचारी सञ्चयक कोष र अर्को साढे १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएको छ । वायु सेवा निगमको यो वाइड बडी आएपछि चारवटा चारवटा ठुला जहाज हुनेछन् । निगमसँग अहिले एयर बस दुईवटा र बोइङ ७५७ एउटा जहाज रहेको छ ।

दुइटै वाइड बडी आइसकेपछि निगमले बोइङलाई बेच्ने तयारी गरेको छ । निगमले अर्को बोइङ यसअघि नै बेचिसकेको छ । निगमले अरु दुईवटा एयरबस खरिदका नेपाल वायु सेवा निगम सञ्चालक समितिबाट निर्णय गराइसकेको छ । निगमले आन्तरिक उडानका लागि ६ वटा ट्विनअट्टर जहाज खरिद प्रक्रिया सुरु गरिसकेको छ ।