म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टले आठकोठे भवन निर्माण गरिदिएको छ ।


ADVERTISEMENT


२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको यस विद्यालयमा वेल्फेयरले रु एक करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण गरेको हो ।


ADVERTISEMENT

# # #


भूकम्प प्रतिरोधी भवन निर्माण गरी वेलफेयरले हालै विद्यालयलाई भवन हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले जानकारी दिएका छन् ।

“तीन वर्षअघिको भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएको थियो, विद्यालयका पूर्वअध्यक्ष बागविर पाइजाको विशेष पहलमा वेल्फेयरमार्फत भवन निर्माण भएको छ, भवन निर्माणसँगै विद्यालयको पठनपाठनमा सहजता भएको छ”– अध्यक्ष बुद्धुजाले भने । वेल्फेयरले भूकम्पपछिको पुनःनिर्माणका लागि सञ्चालन गरेको क्विक रेस्पोन्स परियोजनाले सो भवन बनाएको हो ।

गत मंसिर १४ गतेदेखि शुरु भएको भवन निर्माण कार्य असार ६ गते सम्पन्न भएको छ । वेल्फेयरले विद्यालय भवनसँगै पाँचकोठे छुट्टै शौचालयसमेत निर्माण गरेको विद्यालयका प्रधानाध्यापक केदार कार्कीले जानकारी दिएका छन् ।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा हाल १९१ जना विद्यार्थी अध्ययनरत छन् । भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त यस विद्यालयमा सरकारी, संघसंस्था, समुदाय तथा विभिन्न ठाउँमा रहेका शिखवासीका तर्फबाट आर्थिक स्रोत जुटाएर करीब रु तीन करोडभन्दा बढीको पूर्वाधार निर्माण गरिसकिएको प्रअ कार्कीले बताएका छन् । रासस