काठमाडौं–नर्सिङ शिक्षामा छात्र/छात्रामा हुँदै आएको विभेद हटेको छ। छात्र (पुरुष) विद्यार्थीले पनि अब स्वदेशमै नर्सिङ पढ्ने अवसर पाउने भएका छन् ।


ADVERTISEMENT


नेपाल नर्सिङ परिषद्ले आउँदो शैक्षिक सत्र २०७५/०७६ देखि छात्रलाई पनि नर्सिङ पढाउन १५ प्रतिशत कोटा छुट्याएको सूचना निकालेको हो । डाक्टरी शिक्षामा विभेदीकरण हुन नहुने वर्षौदेखिको आवाज सम्वोधन भएको नेपाल नर्सिङ परिषद्की अध्यक्ष गोमादेवी निरौलाले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


“फार्मेसी शिक्षामा छात्ररछात्रा विभेद छैन । किन नर्सिङ शिक्षा विभेदीकरण गरिराख्ने ? त्यसैले हटाइयो, छात्रले पनि अब नर्सिङ पढ्न पाउँछन्” उनले भनिन् ।

२०४६ सालपछिका ४ वर्ष देशका विभिन्न क्याम्पसमा छात्रले नर्सिङ पढे । त्यसबेला पढेका ८० भन्दा बढी छात्र नर्स अहिले स्वास्थ्य सेवामै छन् । त्यसपछि छात्रालाई मात्रै नर्सिङ पढ्न दिइयो । छात्रले पनि नर्सिङ पढ्न पाउनुपर्ने माग आउँदो शैक्षिक सत्रदेखि पुरा हुँदैछ ।

विभिन्न क्याम्पसले छात्रलाई नर्सिङ पढाउँदैछन् । यति मात्रै होइन, छात्रलाई नर्सिङ पढाउनुपर्ने अवस्था अस्पतालमा आएका बिरामीको प्रकृतिले देखाएको निरौलाले बताइन् ।

“बिरामी पुरुषको अवस्था सम्बोधन गर्न पुरुष नर्स नै सहयोगी हुँदा रहेछन्” निरौलाले भनिन्, “बिरामीको गुनासो र आवश्यकतालाई पनि सम्बोधन गर्न छात्रलाई नर्सिङ पढ्ने बाटो खुला गरियो।”

यसअघि छात्रहरू भारतलगायत विभिन्न देशमा गएर नर्सिङ पढ्नुपर्ने बाध्यता थियो । अध्यक्ष निरौलाका अनुसार विदेशमा पढाइ सकेका त्यस्ता छात्र नर्सले काउन्सिलबाट लाइसेन्स लिएका छन् ।

“आफ्नो देशमा पढ्न नपाएपछि केटाहरू विदेशमा गएर पनि नर्स पढे” उनले भनिन्, “नर्स हुन चाहने छात्रले अब स्वदेशमै पढ्न पाए, राहत भयो। देशकै शिक्षा प्रणालीमै सुधार भएको मान्नुपर्छ।”

अहिले देशमा चाहिनेभन्दा धेरै नर्सहरू उत्पादन भइरहेको छ । यहाँ जागिर नपाएकाहरू विदेशिने पनि गरेका छन् ।

“चाहिनेभन्दा धेरै नर्सहरू उत्पादन हुन्छ। सरकारले दरबन्दी थप गर्न सकेको छैन” उनले भनिन्, “वीर अस्पतालमै २०३६ सालदेखि नर्सको दरबन्दी बढेको छैन।” देशका १२५ क्याम्पसमा नर्स पढ्न सकिन्छ । प्रति वर्ष करिब १५५ जना छात्र नर्स उत्पादन हुने अनुमान गरिएको छ । अहिले वार्षिक १२५ क्याम्पसबाट ७ हजार ७ सय ४० छात्रा नर्स उत्पादन हुँदै आएका छन् ।

परिषद्का अनुसार पछिल्लो समय १३ हजार स्टाफ नर्सले लाइसेन्स नविकरण गरेका छन् । मागभन्दा धेरै नर्सहरू उत्पादन भएकाले उनीहरूलाई रोजगारी दिन विभिन्न ठाउँमा व्यवस्थापन गर्नुपर्ने तर्क उनले गरिन् । विद्यालय, कलकारखानामा पनि नर्सहरू राख्न उनको सुझाव छ ।