काठमाडौं–अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ ।


ADVERTISEMENT


छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो । पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन । साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन् । परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन् । उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो । तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए ।

छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए । तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन् । – आजको कान्तिपुरबाट